प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाली टोली आज लाओसविरुद्ध अपराजित यात्रा कायम राख्दै उपाधि जित्न चाहन्छ । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । घरेलु मैदानमा खेल्न लागेकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।
यद्यपि राम्रो प्रदर्शन गरिरहेको लाओसविरुद्ध नेपाललाई सहज जित निकाल्न भने कठिन हुनसक्छ । लाओसले अघिल्लो खेलमा मात्र भुटानलाई २–१ ले हराएको थियो । जबकि नेपालले भुटानविरुद्ध १–१ को बराबरी खेल्यो ।
टोलीका महत्वपूर्ण सदस्य अञ्जन विष्ट र पुजन उपरकोटी फाइनल गुमाउने भएपछि नेपाल केही समस्यामा छ । अञ्जन चोट र पुजन दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाउने भएका हुन् ।
कप्तान तथा गोलकिपर किरण चेम्जोङले अहिलेको अवस्थामा नेपालले उपाधि जित्नु आवश्यक रहेको बताएका छन् । ‘टोलीमा समावेश नयाँ अनुहारका लागि अनुभव र मनोबल बढाउन उपाधि जित्नु महत्वपूर्ण हुनेछ । हामी उपाधिका लागि मानसिक र शारीरिक रूपमा तयार छौँ । उपाधि जित्नु हाम्रा लागि महत्वपूर्ण काम हो । नयाँ अनुहारको वर्चस्व रहेको टोलीलाई यसले प्रेरित गर्नेछ,’ किरणले बिहीबार पत्रकार सम्मेलनमा भने ।
लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरे । ‘नेपालसँगको उपाधि भिडन्त हाम्रा लागि अत्यावस्यक थियो । घरेलु टोली उत्कृष्ट छ । तर, फाइनलमा घरेलु टोलीविरुद्ध हामीले उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ भोङ्चियाङखामले भने ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेता टोलीले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।