नेकपा एमालेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ का लागि उम्मेदवार छनौट गरेको छ । जसअनुसार तनहुँ १ बाट पूर्वआइजिपी सर्वेन्द्र खनाल, र चितवन २ बाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने भएका छन् ।
तनहुँबाट उम्मेदवार बनेका खनाल ४ मंसिरको निर्वाचनमा काठमाडौं ६ बाट प्रतिनिधिसभामा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । न्यौपाने भने नयाँ उम्मेदवार हुन् ।
यसअघि ४ मंसिरको निर्वाचनमा चितवन २ मा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए । रास्वपा अध्यक्ष रवि लामिछाने पहिलो, कांग्रेसका उमेश श्रेष्ठ दोस्रो हुँदा पोखरेल तेस्रो स्थानमा आएका थिए ।
सो क्षेत्रमा यसपटक रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट न्यौपानेबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।
त्यसैगरी तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र एमालेबाट खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।
एमलेले बारा २ मा भने उम्मेदवार तय गरिसकेको छैन । सो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दै छन् । उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन गर्ने भएका छन् । तर, जनमत पार्टीले शिवचन्द्र कुशवाहा, लोसपाले राजेन्द्र महतो र रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।