कर्मले बदलिएका ‘तरकारी काका’, जसले बारीमै बिताए ३५ वर्ष

घर्कँदो उमेर । सेताम्मे दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन् ।  

कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्न थालेका उनमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो ।

साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन । व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथि बनेका छन् । पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन् । 

कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ । सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपर्थ्यो । तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब २ करोड रुपैयाँको जग्गा किन्न सफल भएका छन् । उनले आजको यो सफलता सहजै प्राप्त भने गरेका छैनन् । 

थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ । सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको सापकोटाको तीतो अनुभव छ । 

‘जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, वि.सं २०४८/४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन । सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो । तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ,’ सापकोटाले भने ।



उनले आफ्नो दुःख सुनाउँदै अगाडि भने, ‘अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्कान, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो ।’

सुरुका दिनमा बारीमा धेरै काँक्रो तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको सापकोटाले सुनाए । सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन् । सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भएका छन् । त्योबाहेक उनी महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन् । तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ ।



आफ्नो कमाइबाटै उनले अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन् । कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरूत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ । त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ ।

सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छन् । उनीहरूले कृषि कर्मबाटै वार्षिक ३ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । 

तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन् । श्रीमानको कडा मिहिनेत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उनको भनाइ छ । रासस 

  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १०:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया