यात्री निवासलाई व्यापारिक थलो बनाइएकाेमा विराेध

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आफ्नो स्वामित्वमा रहेकाे यात्री निवासलाई व्यापारिक केन्द्रका रूपमा प्रयाेग गरेपछि विराेध सुरू भएकाे छ । भारतका प्रसिद्ध धार्मिक ट्रष्ट तिरुपति तिरुमलाको आर्थिक सहयोगमा बृहत्तर जनकपुरको व्यवस्थापन तथा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको गुठी अधिनस्थ मटिहानी मठको जग्गा दानमा लिई यात्री निवास निर्माण सम्पन्न भएकाे थियाे ।

नेपाल र भारतबीच धार्मिक–सांस्कृतिक सम्बन्धलाई जनस्तरमा अझै प्रगाढ बनाउने उद्देश्यका साथ करिब दुई दशकअघि यात्री निवासको निर्माण भएकाे हाे । जनकपुरधाममा हुने धार्मिक–सांस्कृतिक समारोहमा नेपाल र भारतबाट सहभागी हुने साधु, सन्त तथा सर्वसाधारण अति न्यून रकम (५ सयदेखि १ हजारसम्म) तिरेर आवास सुविधा प्राप्त गरिरहेकाे थिए । 

यात्री निवास निर्माणकै समयमा भएको दुईपक्षीय सहमतिमा उक्त परिसरलाई पूर्णतः शाकाहारी राख्ने सहमति भएअनुसार जनकपुरधाममा धार्मिक, सांस्कृतिक समारोह हुँदा पर्यटकले उक्त क्षेत्र सहजै प्रयाेग गर्न पाउँथे । न्यून शुल्क भएका कारण नेपाल र भारतका सर्वसाधारण नागरिकले पनि यात्री निवास उपभोग गर्न पाएका थिए भने स्थानीयले विवाह तथा व्रतबन्धजस्ता समारोह गर्दा सहुलियतमा साेकाे उपयाेग गर्न पाएका थिए । 

हाल यात्री निवासलाई बृहत्तर बोर्ड वा त्यहाँको प्रशासनले निजी क्षेत्रका नाफामूलक होटल व्यावसायीलाई लिजमा दिएको छ । फाइभ स्टार होटेलजस्तो मँहगो शुल्कका कारण उक्त होटल आमजनताको पहुँमा छैन । उक्त होटेलमा निषेधित गरिएको मांस र मदिराजस्ता सामग्री पनि अहिले प्रयोगमा ल्याइएको छ । 

जनकपुरधामस्थित रामानन्द युवा क्लबले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएकाे छ। धर्म संस्कृतिको रक्षाका लागि निरन्तर सक्रिय साे क्लबका अध्यक्ष शशिभूषण झा (आशुतोष)ले एक विज्ञप्ति जारी गर्दै यात्री निवास र बृहत्तरको कार्यालयमा तालाबन्दी गर्नुका साथै विरोधका अन्य कार्यक्रमसमेत सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो धर्मशाला हो, र धर्मशाला सञ्चालन सेवाको उद्देश्यले हुने भएकोले सरकारी सम्पत्ति दुरुपयोगकाे निर्णय स्वीकार गर्न सकिँदैन ।’ 

नेपाल तथा भारतका धार्मिक पर्यटक पनि उक्त ठाउँ प्रयोग गर्न नसक्ने स्थिति बनाइएको आरोप लगाउँदै उनले अहिले उक्त ठाउँ उच्च आर्थिक हैसियत भएका व्यक्तिहरुको पहुँचमा मात्र रहेको दाबी गरेका छन् । 
 
उनले यात्री निवास लिजमा लिएका व्यवसायीलाई पुरानै दररेटमा उपयोग गर्न लगाउने वा ठेकेदार व्यवसायीले पुरानो दररेटमा उपलब्ध नगराएमा उनको ठेक्का रद्द गरी बृहत्तर जनकपुरले आफैँ पूर्वमै सञ्चालन गरेअनुसार सञ्चालनमा ल्याउन अनुरोध गरेका छन् ।



दुई महिनाभित्र उक्त स्थान धर्मशालाजस्ता सेवामूलक ढंगले पूर्वमा लिइँदै आएको दररेटमा सञ्चालनमा नल्याइए यात्री निवास र बृहत्तर जनकपुरको कार्यालयमा ताला लगाउनुका साथै विरोधका अन्य कार्यक्रमसमेत गर्ने अध्यक्ष झाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।



  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १७:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया