कांग्रेसको विरोधका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक पारित

काठमाडौं– शुक्रबार प्रतिनिधि सभाबाट  ‘सूचना प्रविधिसम्बन्धिी विधेयक २०७५’ बहुमतले पारित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पेस गरेको ‘सूचना प्रविधिसम्बन्धिी विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद बहुमतबाट पारित भएको हो ।

सरकारले जनताको आवाज दबाउने गरी सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाएको थियो । सरकारले सूचनाको अधिकारलाई अंकुश लगाउन खोजेको भन्दै प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले विरोध गरेका थिए । 

आलोचनाबाट बच्न पूर्वराजा ज्ञानेन्द्रले सञ्चारमाध्यममाथि रोक लगाएको प्रसंग निकाल्दै कांग्रेस सांसद गगन थापाले भने, ‘कुनै वेला आलोचनाबाट बच्न ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु, तर न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो ।’ थापाले यो कुरा स्मरण गर्न सरकारलाई आग्रह गरे ।

कांग्रेसकै अर्की सांसद डिला संग्रौलाले सो विधेयक अधिनायवाद र सर्वसत्तावादको संकेत भएको बताउँदै संशोधन गर्न माग गरिन् । प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सूचना र सञ्चारमाथि अंकुश लगाउने गरी विधेयक ल्याइएको उनको टिप्प्णी थियो । 

सत्तारुढ दलका सांसद योगश भट्टराई, महेश बस्नेत, विमला विक, रेनुका गुरुङ, सूर्य प्रसाद पाठकलगायतले भने विधेयकको बचाउ गरेका थिए । बढ्दो सूचना प्रविधिलाई व्यवस्थित र मर्यादित बनाई आधुनिक र सभ्य बनाउन विधेयकले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो ।





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १९:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया