गमगढी–नाग्मा सडक अवरुद्ध

सिञ्जा– कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन । 

डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन ।

पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । 

सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो ।

गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन् । गमगढी बजारमा ग्यास सिलिण्डर अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन् । 

अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए ।  



बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको मौज्दात घटेको छ । गमगढीमै दैनिक उपभोग्य वस्तु अभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन् । 

खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडकखण्ड पनि हिमपातले एक महीनादेखि बन्द भएको छ । दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ । 



गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव शुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । रारा जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ ।

बाटोमा करीब पाँच फिट हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको स्थानीय गणेश टमटाले बताए । उनका अनुसार गाउँपालिकाबाट सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । 

  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार ७:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया