ज्ञानेन्द्र शाहीले संसदमा भने- वास्तविक मिटरब्याजी सरकार आफैँ हो
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘सरकार भन्छ–मिटरब्याजीको समस्या समाधान भयो । हिजो मात्रैको घटना हो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरू झुन्डिन तयार छन् । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भनेर वास्तविक मिटरब्याजी यो सरकार हो ।’ 

प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गरे ।

‘नेपाल सरकारले अहिले फिक्स डिपोजिट मात्रै, राज्यको पैसा मात्रै २ खर्व ११ अर्ब रुपैयाँ फिक्स डिपोजिट गरेको छ । झन्डै सरकार बचत आज निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर ३ खर्व ६२ अर्ब ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ । अहिले पनि सरकारले ८ दशमलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर आज दिइरहेको छ,’ उनले भने, ‘अहिले झन्डै सय जना भन्दा बढी मान्छेहरू अहिले बेलैमा बैंकको ब्याज तिर्न नसकेर आज मृत्युवरण गरिराख्नु परेको छ । म अहिले सरकारलाई भन्न चाहन्छु- वास्तविक मिटरब्याजी को हो ? आज वास्तविक मिटरब्याजी यो सरकार भएको छ ।’ 


उनले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ता भित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनी समेत दिए । 

उनले भने, ‘यो पछिल्लो तथ्याङ्कलाई मात्रै हेर्ने हो भने यो ८ महिनामा चालू खर्च मात्रै सरकारले ५१ दशमलव ४६ प्रतिशत, पूजागत खर्च २२ दशमलव १५ प्रतिशत र व्यवस्थापन खर्च ३७ दशमलव ४१ प्रतिशत गरेको छ । भएभरको पैसा असारमा मात्रै खर्च गर्ने पुँजीगत खर्च ७८ प्रतिशत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने, बैंकमा ब्याज खाने, अनि मिटरब्याजी अरुलाई भन्ने । वास्तविक मिटरब्याजी कोही छ भने सरकार छ । म सरकारलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु–यसरी मिटरब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसायी र विकास निर्माणको काम ठप्प परेका छन् । यो छिटोभन्दा छिटो दिइयोस् । यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस् । कर्मचारीले आज तलब खान पाएको छैन । आज निर्माण व्यवसायीहरुले पैसा पाएका छैनन् । यसको जवाफ ७ दिन भित्र सम्बन्धित मन्त्रीले दिनुपर्छ । होइन भने हामी सदनमा खडा भएर उभिनेछौँ ।’



प्रमुख सचेतक शाहीले बैकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई सचेत गराए ।  



  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १५:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया