कोरोनाले सुनसान घोडेपानीमा बढ्यो चहलपहल, तीन वर्षपछि चिनियाँ पर्यटकको आवागमन
फाइल तस्बिर

म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा पर्यटकको संख्या बढ्न थालेको छ । कोरोना भाइरसका कारण तीन वर्ष सुस्ताए पनि पछिल्लो समय भने घोडेपानीमा पर्यटकको संख्या बढेको हो ।   

आइतबार मात्र चिनियाँ पर्यटक घोडेपानी आइपुगेका छन् । घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटकको आगमन भएको हो । ०७६ चैतमा कोरोना महामारी फैलिएपछि यहाँ चिनियाँ पर्यटकको आगमन बन्द भएको थियो । 

नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन् ।

पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् । 

घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताए । उनका अनुसार यो पदमार्गमा थप तीनवटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।  



घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन ५ सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् । 

‘कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई/तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई/चारजना पाहुना भइरहन्छन्,’ स्थानीय डमबहादुर पुनले भने, ‘कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई/तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।’



घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजार रुपैयाँमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गीन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताए ।  

भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक  बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस 

  • प्रकाशित मिति : बैशाख ४, २०८० साेमबार ९:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया