राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश तनहुँले दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् । सत्ता गठबन्धनसम्बद्ध दलहरूले तनहुँकाे दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताए । 

सरकारलाई निरन्तरता दिएर पाँच वर्ष जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै उनले भने,'जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन ।' महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको धारणा राखे ।

देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्नुपर्ने उनले सुझाव दिए । 'रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ । तब मात्र परिणाम आउँछ,' थापाले भने । 

खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउँदै महामन्त्री थापाले जनतामा विश्वास जागृत गराउन मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने बताए । 

वैशाख १० गते हुने उपनिर्वाचनले सरकार गठन प्रक्रियामा केही प्रभाव नपर्ने भए पनि राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो । मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँका जनताले दिएको मतका कारण आज तनहुँले राष्ट्रपति पाएको भन्दै महामन्त्री थापाले राष्ट्रपतिले संवैधानिक दायित्व सफलतापूर्वक पूरा गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताए । कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांग्रेसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो ।



गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांग्रेसले न्याय गरेको भन्दै उनले धेरै युवा उनलाई मतदान गर्न आतुर रहेको आफूले पाएको बताए । तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उनको जित अनिवार्य रहेको महामन्त्री शर्माले बताए । 

देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै महामन्त्री शर्माले देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने बताए । 'देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ, तर देशलाई बनाउँछौँ भन्ने दृढ संकल्प बोकेका छौँ, महामन्त्री शर्माले भने । आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो । 



राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दै उनले पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको बताए । राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको उनकाे भनाइ छ । 

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताए । नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको उनको भनाइ थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए । गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उनले उल्लेख गरे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए । 

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उनले बताए । पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उनको भनाइ थियो । 

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले संघीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए । 

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए । 

  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार १८:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया