एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह

नेपालले एसियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गरेका हुन् । 

उनले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याए । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा समेत सरकारलाई बैंकको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । 

सो क्रममा उनहरूबीच आयोग र बैंकबीचको सहकार्य तथा बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

बैंकका देशीय निर्देशक कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताए । एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उनको भनाइ थियो । 

बैंकले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब चार खर्ब २१ अर्ब रुपैयाँ (३.२ विलियन डलर) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैंकले लगानी गरेको छ । 



गत वर्ष मात्र बैंकले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैंकले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो । 



  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १४:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया