उपनिर्वाचन मतपरिणामबारे कुन दलका नेताले के भने ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताए । 

जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने उनले बताए । यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने उनको भनाइ छ । उनले भने, ‘सबैको परीक्षाको घडी सुरु भएको छ । सबैले परीक्षामा पटक–पटक उत्तीर्ण हुनुपर्छ । त्यसमा सबैको ध्यान जाओस् ।’

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताए । निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिई स्वाभाविक प्रक्रियाको रुपमा लिनुपर्ने उनले बताए । उनले भने, ‘निर्वाचन एउटा सहज प्रक्रियामा जनताले उहाँहरु(रास्वपा)लाई छाने । जनताले छान्ने अधिकार हो ।’

त्यस्तै, नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भूमिकालाई स्पष्ट रुपमा जनतासमक्ष पुर्याउन चुकेको बताए । एमालेले गरेका काम जनतासम्म पुुर्याउन नसकेका कारण एमाले उपनिर्वाचनमा पराजित हुनुपरेको उनको भनाइ छ । उनले भने, ‘आफ्ना विषयहरु राख्न सकेको भए एमालेले राम्रो मत ल्याउन सक्थ्यो । हामी त्यहाँनिर चुक्यौँ । त्यही कारणले यो नतिजा आएको हो ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताए । आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा बृहत् छलफल गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । नेताहरुले आफ्नो दिमाग र पार्टीलाई अपडेट गर्नुपर्ने उनले औँल्याए । उनले भने, ‘हामीले हाम्रो दिमागलाई पनि अपडेट गर्नुपर्नेछ । पार्टीलाई अपडेट गर्नुपर्नेछ । त्यो गर्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताए । नेपाली जनता परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको पनि उनले बताए । उनले भने, ‘नेपाली जनता युवाहरुको पक्षमा छन् । जनता देशको समान विकासमा विश्वास गर्छन् भन्नेकुरा लाग्छ मलाई ।’



यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीलाई चुनौती खडा गरेको बताए । ठूला पार्टीले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भीरतापूर्वक नसोच्ने हो भने चुनौती खडा हुने उनको भनाइ छ । उनले भने, ‘मूलधारका ठूला पार्टीहरुले आफूलाई गम्भीरतापूर्वक जीवनशैली, कार्यशैली र अरु समग्र कुराहरुको बारेमा सोचिएन भने एउटा चुनौती खडा भएकै देखिन्छ ।’

निर्वाचनमा गठबन्धन हुँदा बढी जोखिम हुने र अनौठो परिणाम आउने खतरा हुने पनि बताउनु भयो । सांसद सापकोटाले वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेको भन्दै रास्वपाले स्थिरता र स्थायित्वको बारेमा सोच्नेमा विश्वास व्यक्त गरे । 
 



  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १८:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया