अर्थतन्त्रको समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताए । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गरे । 

उनले सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे । 

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताए । उनले सिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे । उनले सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । 

अर्थमन्त्री डा.महतले अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता जनाए । उनले अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि,मूल्यवृद्धि,आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताए । उनले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम भएको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताए ।



अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताए । उनले बजार संकुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । उनले अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरु प्रयोग गरी शेयर बजार,अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।   



  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार १६:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया