नेकपाका असन्तुष्ट सदस्यहरूले बुझाए अध्यक्ष ओलीलाई सांगठनिक एकताको छुट्टै प्रतिवेदन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तत्कालिन कार्यदलका असन्तुष्ट पाँच सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांगठनिक एकताको सात पृष्ठ लामो प्रतिवेदन आइतबार राति बुझाएका छन् । 

सचिवालयले कार्यदल भंगको निर्णयप्रति असन्तुष्टि जनाउँदै विघटित कार्यदलका बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा कार्यदलको बैठकमा विवाद भएका मुख्य विषयहरूसहित सांगठनिक एकीकरणको प्रस्ताव उल्लेख छ । 

शुक्रबार बसेको सचिवालय बैठकले एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा पाएको ९ सदस्यीय कार्यदललाई धन्यवाद दिएर विदाई गर्दे बाँकी काम सचिवालयले नै गर्ने निर्णय गरेको थियो ।  

प्रतिवेदनमा कार्यदलले काम गर्न नसक्नुमा तत्कालिन कार्यदलका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई दोषी ठानिएको छ । यसअघि कार्यदलका सदस्यले संयोजक थापा र महासचिव पौडेलले कार्यदललाई काम गर्न नदिएको आरोप लगाउँदे आएका थिए । प्रतिवेदनमा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरिएको छ । 

प्रतिवेदनमा स्थायी कमिटिले बनाएको कार्यदल सचिवालयले भंग गर्ने निर्णय पार्टी विधानको धारा ३३ (ग) विपिरत भएको  असन्तुष्टि पक्षको भनाई छ । प्रतिवेदनमा कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, बर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टको नाम छ ।

प्रतिवेदनमा कार्यदलमा देखिएका मुख्य समस्यामा प्रदेश कमिटीका सदस्यको मापदण्ड र १० प्रतिशत सदस्य थप गर्ने विषयमा कार्यदलका सदस्यबीच विवाद भएको पनि बताइएको छ ।  



के छ सांगठनिक एकीकरण प्रस्ताव प्रतिवेदमा ?

१४७ सदस्यीय पोलिटब्यूरो गठन गर्दा केन्द्रीय कमिटीमा रहेको पूर्वघटकको सदस्य संख्याको अनुपातमा पूर्व एमालेतर्फका ८१ र पूर्व माओवादी केन्द्रतर्फका ६६ सदस्य राख्ने प्रस्ताव उल्लेख छ ।



केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गर्दा विधानको धारा ४६ (क) को एक व्यक्ति एक मुख्य जिम्मेवारी हुने प्रावधान लागू गर्ने उल्लेख छ ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गर्दा ती आयोगका निवर्तमान सदस्यहरूलाई कायम राखी बाँकी सदस्यहरू पूर्वकेन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने प्रस्ताव उल्लेख छ ।

जनवर्गीय सङ्गठनहरूको एकीकरण गर्दा जिल्ला र मातहत कमिटीहरूको एकीकरण गर्दा अबलम्वन गरिने मापदण्डहरू नै अबलम्वन गर्ने प्रस्ताव छ ।

सम्पर्क कमिटी तथा मञ्च र प्रवासका सङ्गठनहरूको एकीकरण गर्दा पनि जिल्ला र मातहत कमिटीहरूको एकीकरण गर्दा अवलम्वन गरिने मापदण्डहरू नै अबलम्वन गर्ने प्रस्तव छ ।  

यस्तै जिल्ला र मातहत कमिटीहरूका पदाधिकारीमा सम्बन्धित कमिटीका निवर्तमान पदाधिकारीमध्ये वरिष्ठलाई राख्ने लगायतका अन्य प्रस्ताव छ । 

को–को थिए कार्यदलमा 

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले ९ सदस्यीय कार्यदल गठन गरेर पुस मसान्तभित्र पार्टी एकताको बाँकी कामको टुंगो लगाउन एकता कार्यदललाई जिम्मा दिएका थिए । समयमा नै कार्यदललाई प्रतिवेदन बुझाउन सचिवालयले पटक–पटक निर्देशन दिए पनि कार्यदलले निर्धारित समयमा प्रतिवेदन बुझाउन सकेको थिएन । कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजकसहित विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल थिए । 


  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार ८:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया