नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले उपचार खर्च आफैँ व्यहोर्न राष्ट्रपति पौडेललाई सुझाब दिएका हुन् ।
भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए । थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे । गणतन्त्रमा राज्यका उच्चपदस्थ व्यक्तिले राज्यकोषबाट उपचार गर्ने र आमनागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने महामन्त्री थापाले बताए ।
‘यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ,’ उनले भने, ‘म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ ?’
महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए । आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न उनले ट्रेड युनियनकर्मीलाई आग्रह गरे । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरुलाई आह्वान गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।