शरणार्थी प्रकरणबारे गगन थापाले भने- यो घटना होइन प्रवृत्ति हो, अझै गहिरोसँग अनुसन्धान होस्
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अझै गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले ‘ठगि  गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको बताउँदै कानून भन्दा माथि कोही हुन नहुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि  गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । उनलाई आज अदालतमा पेस गरिँदै छ । 

टोपबहादुर गत वर्षको ४ मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  

मंगलबार मात्र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राई पक्राउ परेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो । 

यो प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।    





  • प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार ११:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया