सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन् । उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरू विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको बताइन् । उनले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने बताइन् ।
‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन । हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन’, उनले भनिन्, ‘कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरूको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठीक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन ।’
मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।