गणतन्त्र पछि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताएकी छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । 

‘गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । सामाजिक बनावट, भोगाइका कारण नै पनि महिलाहरूलाई समस्या छ । यति हुँदाहुँदै पनि राज्यका सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । यो सकारात्मक पक्ष हो,’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘महिलाहरू तथा पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन केही सहुलियत दिनुपर्छ । पुरुषको तुलनामा महिलाहरू पछि परेकै छन्, पत्रकारितामा आउने महिलालाई पेसामा टिकाउने र नेतृत्व विकास गर्नेमा ध्यान दिऔँ । पेसामा टिकिराख्न र प्रतिस्पर्धामा आउन महिलाहरूलाई समस्या छ । यी समस्या हल गर्न ध्यान दिऔँ ।’ 

सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले चार महिना लगाएर अध्ययन गरेर तथ्यका आधारमा छलफल चलाउने प्रयास गरेकामा म्यागलाई धन्यवाद दिँदै भोगाइका आधारमा गरिने अध्ययन पनि यथार्थतामा आधारित हुने बताइन् । छिटोभन्दा छिटो आमसञ्चार ऐन ल्याउन सकियो भने सबैका लागि महत्वपूर्ण काम हुने बताउँदै उनले मिडिया क्षेत्रको सहयोगले सरकारलाई सहयोग पुग्ने धारणा राखिन् । मन्त्री शर्माले पछिल्लो समयमा नकारात्मक प्रवृत्ति र पात्रलाई स्थापित गर्ने हाबी भएको भन्दै राजनीतिभन्दा पनि पत्रकारिता क्षेत्र धेरै महत्वपूर्ण रहेको बताइन्् । 

त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिआर थम्सनले पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्ने बताए । ‘यस्ता अध्ययन प्रतिवेदनमा कसरी अध्ययन गरिएको छ र अध्ययनका क्रममा कस्ता प्रक्रिया अपनाइएका छन् भन्ने कुराहरू महत्वपूर्ण हुन्छन् । पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्छ । यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रयास रहन्छ,’ राजदूत थम्सनले भने । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अध्ययन प्रतिवेदनले पत्रकार महिलाको विगत संलग्नताको पृष्ठभूमि ल्याएको बताए । उनले रिपोर्टमा आएका कुरालाई सन्तोष मान्दै आवश्यक सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । सत्य कुरा स्थापित हुँदा मिडिया प्रभावकारी हुने र सत्य कुरा स्थापित गर्दै मिडियाको विश्वसनीयता कायम गर्न लाग्नुपर्नेमा उनले जोड दिए । लैंगिक समावेशी र प्रभावकारी हुँदा सरकारले सुशासन कायम गर्न सक्ने उनले बताए । 

नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षितले मिडिया मात्रै नभई राज्यका सबै क्षेत्रमा लैंगिक असन्तुलन रहेको बताए । विदेशी मामिला रिपोर्टिङ भूराजनीतिक रिपोर्टिङ मात्रै नभएको बताउँदै उनले महिलाहरुको सहभागिता बढ्दा पेसाप्रति राम्रो सन्देश जाने बताए । 



अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण गर्दै म्यागकी कार्यकारी निर्देशक बबिता बस्नेतले आठ सयजना पत्रकार महिलामध्ये पाँच सयजना सहभागी महिलाले राखेको धारणाका आधारमा २३ दशमलव ९ प्रतिशत सामाजिक बिटमा, १९ दशमलव ५ प्रतिशत लैंगिक तथा महिला, १३ प्रतिशत ३ प्रतिशत राजनीति र ६ दशमलव ६ प्रतिशत महिला परराष्ट्र मामिला क्षेत्रमा रिपोर्टिङमा क्रियाशील रहेको तथ्यांक प्रस्तुत गरिन् । 

मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले लैंगिक उत्तरदायी कानुन बनाउनका लागि जोड दिन राज्य पक्षलाई घच्घच्याउन आफूहरू क्रियाशील रहने बताइन् । 



  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार २१:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया