गण्डकीमा मन्त्रिपरिषद विस्तार, मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज चार मन्त्री नियुक्त गरेको हुन् । नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बागलुङका दीपेन्द्रबहादुर थापा नियुक्त भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)बाट रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् । विना विभागीयमन्त्रीकारूपमा पहिले नै शपथ लिइसकेका कांग्रेसका सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी र माओवादी केन्द्रका सुशीला सिम्खडाले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्य विभाजन हेरफेर गरेको थियो ।

नयाँ कार्य विभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपन्छी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै बनाइएको हो ।  

आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत् कायम छन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले वैशाख २१ मा विश्वासको मतसमेत पाइसकेका छन् ।



साठी सदस्यीय प्रदेशसभामा उहाँलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एस)का एक गरी ३५ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । प्रदेशसभामा २२ सिट रहेको नेकपा (एमाले) र दुई सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षी भूमिकामा पुगेका छन् ।  



  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १९:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया