वृन्दावनमा ‘राधे–राधे’, जनकपुरमा खै ‘सीते–सीते’ ?

मैले देखेको जनकपुर, म जन्मिएको जनकपुर एउटा सानो गाउँजस्तै थियो । जहाँ फुसैफुसका घर थिए । र, घरहरु जति थिए त्यसको तुलनामा खेत बढी थिए । हाम्रै घरको कथा हो । हामीलाई जनकपुरबाट बासै सरेर अन्त जानुपर्ने अवस्था पनि आयो । किनभने दिउँसै आएर घरमा स्याल बस्थ्यो र पण्डितहरुसित सोध्दा यो कुनै विनाशको सूचक हो भन्थे । त्यतिखेर सबै दृष्टिले जनकपुर अविकसित थियो । 

मैले देखेको जनकपुरमा कहीँकतै स्कुल कलेजको नाम थिएन । म विंस २००३ मा जन्मिएँ । त्यसको एक वर्षपछि सरस्वती हाइस्कूलको स्थापना भयो । स्नातक उत्तीर्णको त के कुरा स्कुले कक्षा पूरा गरेका मानिस भेट्न पनि मुस्किल हुन्थ्यो । एकपटक गाउँमा ठूलो मेला लाग्यो । मान्छेहरु सबै ओइरिएका थिए, पिपरातिर । म सानै हुँदाखेरि एकजनासित सोधेँ– यसरी किन मान्छेहरु ओइरिएका छन् ? अनि थाहा पाएँ कि श्यामनन्दन मिश्रा भन्ने एकजना व्यक्ति इलाहाबादबाट स्नातकोत्तर उत्तीर्ण गरेर गाउँ आएका रहेछन् । चारैतिरका मान्छे उनलाई हेर्न गएका थिए । एमए उत्तीर्ण गरेको मान्छे कस्तो हुँदो रहेछ भनेर । शिक्षाको त्यो अवस्था थियो । 

सामाजिक जीवनमा अन्धविश्वासको पराकाष्ठा थियो । चेचक हुँदा पनि त्यो माईको प्रकोप हो भनेर झ्याली पिट्दै माइलाई रिझाउने कोसिस गरिन्थ्यो । त्यो रोग हो भन्ने कुरा कसैलाई थाहा थिएन । बाह«बिगाहा मैदानतिर मान्छेले राति हेर्दैैनथे । किनभने त्यहाँ राँको लिएर प्रेतहरु नाच्छन् भनिन्थ्यो । र भन्थे कि त्यहाँ बोक्सीहरु नांगै नाचेका हुन्छन् । र उनीहरुले ‘रे मुरहा घुरी ताक’ अर्थात् ‘ए मुढ फर्केर हेर’ भन्थे । र, जसले फर्केर हेरथ्यो, त्यो मान्छे ठहरै हुन्थे अरे ! यस्ता अन्धविश्वास थुप्रै थिए । 

जनकपुरको सांस्कृतिक जीवन ज्यादै समृद्ध थियो । थरीथरीका पर्व मनाइन्थ्यो । दहनही भन्ने पर्वमा राम र सीताको डोला निस्कन्थ्यो । र, लक्ष्मण मन्दिरबाट पनि डोला निस्कन्थ्यो । गाउँभरिका मान्छे हात्तीमा सवार भई घुम्थे । जुन–जुन घरको अगाडिबाट हात्ती गुज्रिन्थे त्यहाँ सबैको घरबाट फूलको वर्षा गरिन्थ्यो । अरगजा पोखरीको डिलमा सीताजी रिसाएको नाटक गरिन्थ्यो । त्यसपछि लक्ष्मणजी देवर बनेर भाउजूलाई मनाउन आउनुहुन्थ्यो । 



मेरो पिताजी जानकी मन्दिरको हर्ताकर्ता हुनुहुन्थ्यो । उहाँकै अधिनमा जानकी मन्दिरको बन्दोबस्ती थियो । ​रात्रिपाठशाला धेरै थिए । बोरा ओछ्याएर हामीले पढ्नुपर्ने अवस्था थियो । स्वास्थ्य उपचारको नाममा कहीँ केही थिएन । २००७ पछि एकजना डाक्टर जयबल्लभ दास भन्ने मान्छे आउनुभयो र वहाँ आएपछि सबैले भन्थे कि अब रोग लागेर कोही मान्छे मर्दैैन । घर––घर गएर उपचार पनि गर्नुहुन्थ्यो । अस्पतालको त नामोनिशान केही थिएन अर्थात् सबै दृष्टिले अविकसित थियो, जनकपुर । 

विस्तारै जनकपुरको सहरीकरण हुँदै गयो । वास्तवमा भन्ने हो भने जनकपुरले जुन उत्कर्ष पाउनुपर्ने थियो, त्यो उत्कर्ष जनकपुरले अझै पाउन सकेको छैन । किनभने यो सामान्य भूमि होइन । यो असाधारण भूमि हो । जनकपुर त्यो भूमि हो, जहाँ ऋग्वेदको प्रथम मण्डलको रचना भयो, जहाँ अष्टावक्रको रचना भयो, जहाँ चारवटा दर्शनको प्रतिपादन भयो । यहाँसम्म कि बौद्ध दर्शनको पनि गहिरो प्रभाव थियो । महात्मा बुद्धलाई यहाँ प्रवेश गर्न निषेध गरिए पनि बौद्ध धर्मको प्रभाव भने परेको थियो । यो ठाउँ विभिन्न सम्प्रदायका मान्छेहरुको विकास भएको ठाउँ हो ।




 
भौतिक दृष्टिले पहिलेको तुलनामा अहिले जनकपुर धेरै विकसित भएको छ । तर, अन्तर्यमा हेर्ने हो भने यो समाज कुहिएको सुन्तलाजस्तो देखिन्छ । बाहिरबाट हेर्दा अत्यन्त लोभलाग्दो देखिन्छ । तर, भित्रबाट यसका केस्रा–केस्रालाई केलाउँदा कामै नलाग्ने ।  

जातीयताले नोक्सान पुर्याएको छ,जनकपुरलाई । एउटा कुरो के छ भन्दा सबैभन्दा पहिले यो फरवार्ड हो कि ब्याकवार्ड हो । फरवार्डमा पनि कुन हो । बाहुन हो कि, कायस्थ हो कि, राजपुत हो कि, भूमिहार हो कि के हो । ब्राह्मण छ भने उसको मूल के हो, गोत्र के हो ? भन्नुको तात्पर्य केस्राभित्र पनि केस्रा–केस्राको आधारमा विभक्त देखिन्छ । साम्प्रदायिक भावनाले जरो गाडेर बसेको छ ।

जनकपुर राजनीतिक आधारमा पनि विभक्त छ । हामीले अधिकारको निम्ति लडाइँ गर्ने हो न कि घरमा उज्यालोका लागि घर नै जलाउने हो । घरमा दाजुभाइको झगडामा घरै भत्काउन मिल्दैन नि ! यहाँ अहिले दुर्भाग्यपूर्ण अवस्था छ । संसारमा कहीँ नभएको राजनीतिक संस्कारको विकास नेपालमा भएको छ । एउटा नश्लको या एउटा सम्प्रदायको व्यक्तिलाई गाली गरेर अर्को मन्त्री बन्छ, मुख्यमन्त्री बन्छ । यो कति स्वस्थ दृष्टिकोण छ त्यो हामी स्वयं कल्पना गर्न सक्छौँ । त्यसैले एकदमै रुग्ण राजनीतिक संस्कृतिको विकास यहाँ भयो । अर्को सांस्कृतिक दृष्टिकोणले पनि ज्यादै स्खलन भएको छ, अर्थात् पहिलेको जुन वातावरण र माहोल थियो, त्यो अहिले देखिँदैन । धेरै कुरा मान्छेले बिर्सिंदै गए । चाडपर्व, व्रतलगायत परम्परालाई स्थानीयले पछ्याउन छाडेका छन् । मिथिला चित्रकला पनि मान्छेहरु कागजमा बनाएर टाँस्ने गरेका छन् । अहिले धेरै किसिमका अरिपन मान्छेलाई आउँदैन ।

समग्र रूपमा हेर्दा जनकपुरको जुन गरिमा छ, त्यसलाई पुनस्र्थापित गर्न जनकपुरवासीले धेरै मिहिनेत गर्नुपर्छ । हामी भन्छौँ, हामी जनकका सन्तान हौँ, हामी याज्ञवल्क्यका सन्तान हौँ, अष्टावक्रका सन्तान हौँ । तर, त्यो व्यवहारमा कहीँ देखिँदैन । गुण्डागर्दी मात्र देखिन्छ, बदमासी मात्रै देखिन्छ । कुटाकुट र पिटापिट मात्रै देखिन्छ । हामीले हाम्रो चरित्रमा पनि बोल्न सक्नुपर्यो । अनि मात्रै बाहिरका मान्छे यहाँ आउँछन् । वृन्दावनमा तपाईं जानुस् सबैले भन्छन् ‘राधे–राधे’ । हामीले पनि खोइ ‘सीते–सीते’ भनेको ? यो गर्व हामीलाई छैन । त्यो गरिमाका लागि हामीले पनि प्रयत्न गर्नुपर्छ । 

जनकपुरमा हामी मैथिली बोल्छौँ र मुसलमानहरुले बोलेको भाषालाई पनि हामी मैथिली भन्थ्यौँ । तथाकथित ब्राह्मण, कायस्थ, राजपूत र भूमिहारभन्दा इतर जातका व्यक्तिले ठेठी बोल्दा पनि उनीहरुको ठेठीलाई हामी मैथिली नै बुझ्थ्यौं । अर्थात्, भाषिक द्वन्द्व थिएन । अहिले आएर भाषिक द्वन्द्व सिर्जना भएको छ । हामी मैथिली बोल्दैनौँ, अंगिका बोल्छौँ भन्छन् । कसैले बज्जिका बोल्छौँ भन्छन्, तर बोलेको हो त्यही मैथिली । भाषिक दृष्टिकोणले वैमनस्यको अवस्था आउँदै छ । त्यो एकदमै चिन्ताजनक छ । 

तपाईं अहिले काठमाडौंमा पाग लगाएर सडकमा हिँडनुभयो भने सबैले तपाईंलाई या त पागल भन्छन् या त जोकर । यस देशले आफ्नो निजी वेशभूषालाई पनि स्थापित गर्न सकेको छैन । धोती लगाएर काठमाडौंमा अहिले पनि मान्छेलाई सडकमा हिँड्न लाज लाग्छ । त्यो किन होला ? 


खोलाको सिमाना हुँदैन । इन्द्रधनुषको सिमाना हुँदैन । भाषा र संस्कृतिको सिमाना हुँदैन । वेशभूषाको दृष्टिले पनि धेरै परिवर्तन भएका छन् । धेरै वेशभूषा त हराएका पनि छन् । अनेक किसिमका गहना हराए । हामीकहाँ एकसयभन्दा बढी किसिमका गहना हुन्थे, तर ती अहिले छैनन् । कण्ठा, ढोलना, अगेली, पछेली, बाजुबन्द, हँसुली, हैकल, बाली सबै हराइसके । जबकि विश्व बजारमा तिनलाई बेच्न सक्ने अवस्था थियो । यदि हामीमा त्यो सजगता भएको भए त्यसलाई विश्वसामु चिनाउन सकिन्थ्यो होला । यहाँको मान्छेमा सजगता देखिएन र आफ्नो वेशभूषा, भाषाले अरूलाई प्रभावित गर्नुको साटो हामी अर्काको प्रभावमा परिसक्यौँ । अहिले व्यापारीकरणको जुन लहर आएको छ, त्यसमा त झन् जे बाँकी छन् त्यो पनि रहन्छ कि रहँदैन भन्ने चिन्ताको विषय बनेको छ । चालचलनमा पनि संसारभरि व्यापक परिवर्तन आएको छ । कुनै पनि जातीय जीवनमा अन्तरनिहित उच्चतम मूल्यहरुको व्यवहारमा रुपान्तरण नै चालचलन हो । तर, ती मूल नै अहिले हराएका छन् ।

 

मेरो पिताजीले मलाई ‘ए बाबु’ ! भनेर बोलाउँदा वहाँलाई ‘हजुर’ भनेर जवाफ फर्काइन्थ्यो । वहाँको अगाडि टक्क उभिन्थ्यौँ । तर, आजका युवाहरु त आफ्नो पितासँग खैनी चुरोट मागेर खान थालेका छन् । यसले पारिवारिक ढाँचालाई पनि परिवर्तन गरेको छ । पहिले जसरी घुम्टो हालेर बुहारी आउँथे, त्यसरी अब घुम्टो हाल्ने चलन छैन । अब पाहुना आउँदाखेरि पहिले जसरी थाल सजाइन्थ्यो, त्यो अब एकादेशको कथाजस्तो भइसक्यो । थरीथरीका पकवानहरु पनि हराए । अब कसलाई तपाईंले बगिया खुवाउनुहुन्छ र ऊ दंग पर्छ । तिलकोरका पात कहाँबाट ल्याउनुहुन्छ ? कर्कलाको पातको अरिकञ्चन बनाउने चलन हराए ।
 
चालचलनसँगै हाम्रा सम्बन्धमा पनि परिवर्तन आएका छन् । सामाजिक जीवनमा परिवर्तन देखिएको छ । पहिलेको जस्तो यो समाज नै रहेन अब । पहिले त सडकमा पढाइ छाडेर कुनै बच्चालाई यदि गुच्चा खेलिरहेको कसैले पनि देख्यो भने उसको कान सहजै निमोठ्न सक्ने अधिकार राख्थे । मैले नै धेरै चट्कन खाएको छु, खेल्दाखेरि । र, सबैले भन्थे हो ठिक गरिस् । एकातिर सबैलाई अधिकार पनि थियो कि कुनै बच्चालाई कसरी सुधार्ने भने अर्कोतिर उसको कर्तव्य पनि थियो । मेरो बुवा घरबाट निस्कँदा सबै बच्चाले एक पैसा दा एक पैसा दा भनेर माग्थे । मानौँ सम्पूर्ण समाज एउटा परिवार नै थियो, त्यो बेलामा । अब त एकले आफ्ना अर्का छिमेकलाई पनि चिन्दैनन् । त्यो सम्बन्ध अब रहेन । काका, मामा, हजुरबाको जुन सम्बन्ध थियो, समाजमा त्यो सम्बन्धको धागो नै चुँडिएको छ, अहिले । अब को जान्छ लोटा लिएर मैदान, को जान्छ दतिवन लिएर दाँत माझ्न, को जान्छ एकाबिहान कुवाको पानीले नुहाउन ? सबै चालाहरु बिर्से सबैले । 

त्यतिखेर गुरुहरु सर्वेसर्वा हुन्थे । ब्रह्मभन्दा पनि शक्तिशाली । र, मान्छेले आफ्ना सन्तानलाई सुम्पिदिन्थे । परिणाम के हुन्थ्यो भन्दा गुरुले धेरै परिश्रम गर्न लगाउँथे । टुप्पी बाँधेर पनि पठाउँथे । अहिले तपाईंले मभित्र जुन सामथ्र्य हेर्नुहुन्छ त्यो सबै मैले बाल्यकालमै प्राप्त गरेको हो । मैले हिन्दी, नेपाली, अंग्रेजी, मैथिलीको ज्ञान बाल्यकालमै प्राप्त गरेको शिक्षादीक्षाबाट मजबुत बनाएको छु । अब त विद्यार्थी नै शिक्षकलाई अभिभावकसहित कुट्नलाई विद्यालयसम्म पुगिहाल्छन् । त्यसबेलाको अनुशासन अहिले पनि आवश्यक छ । त्यो अनुशासनहिनताको युग थिएन । त्यसैले विद्यालयमा साना केटाकेटीदेखि नै विद्यार्थी ज्यादै अनुशासित हुन्थे । 

मानिसले आफ्नो चरित्र गुमाएका छन् । यो धेरै दुःखद् कुरा हो । आजको समयको ज्ञान पल्लवग्राही ज्ञान छ । त्यसबेलामा मान्छे अलराउण्डर हुन्थे । सबैले सबै विषय पढ्नुपथ्र्यो । सार्वजनिक पुस्तकालयमा दुई/तीन वर्ष लगाएर दैनिक तीनवटासम्म किताब म आफैँ पढ्थेँ । मैले तीन वर्षमै २६ हजार जति किताब अध्ययन गरेको थिएँ । 

मानिसमा शिष्टता हराएको छ । संसदीय भाषा हराएको छ । हामी दुई दाजुभाइको झगडामा आमालाई छुरा हान्न पनि पछि पर्दैनौँ । हामी कहिलेकाहीँ देशै नष्ट गर्ने कुरा गरिरहेका हुन्छौँ । चेतना नकारात्मक दिशामा जाँदै छ, त्यो चिन्ताजनक छ । भावनात्मक एकताको धागो अत्यन्त नै मसिनो छ, सानो गल्तीले पनि त्यो चुँडिन सक्छ । त्यो चुँडियो भने हाम्रो देशको अस्तित्वमाथि नै संकट पर्न जान्छ । यसको फाइदा अर्को मुलुकले उठाउन सक्छ । त्यसैले राजनीतिक चेतनाको विकास भए पनि मानवीय मूल्यको रक्षाका लागि यसको विकास जरुरी छ ।

तस्बिरहरू : प्रभात आर झा / दीपक कर्ण

(​साहित्यकार डा. विमलसँग ​फरकधारका लागि दीपक कर्णले गरेकाे कुराकानीमा आधारित)

  • प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार १९:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया