प्रध्यापकहरु नै स्विकार्छन् त्रिविमा हुने गरेको यौन दुर्व्यवहार

काठमाडौं– मुलुककै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय केही महिनायता विवादमा तानिएको छ । विश्वविद्यालय हाताभित्र भइरहेको यौन दुर्व्यवहारसम्बन्धी घटनालाई लिएर त्रिवि विवादमा तानिएको हो । घटना सार्वजनिक भएको लामो समयसम्म त्रिविले कुनै ठोस निर्णय नलिए पनि यतिबेला विवादित विषयले बहसको रुप भने लिएको छ । 

विश्वविद्यालयभित्र यौन दुराचारका घटना भुसको आगोझैँ भित्रभित्रै सल्किइरहेको त्रिविकै प्राध्यापकहरुले स्विकारेका छन् । यसलाई पुष्टि गर्न प्रिन्सिपल कृष्ण आचार्यको भनाइ पर्याप्त हुन्छ । त्रिवि राजनीति गर्ने थलो बनेकाले विकृति, विसंगतिले प्रश्रय पाइरहेको उनले एक छलफलमा स्विकारेका छन् ।

राजनीतिक नियुक्तिले गर्दा अक्षम व्यक्तिहरु डिन बनेकाले दुराचारसमेत भित्रिएको उनको तर्क छ । ‘एउटा मात्रै डिन भए पुग्छ,’ सोमबार त्रिवि परिसरमा पूर्वविद्यार्थीहरुले आयोजना गरेको विश्वविद्यालयभित्र लैंगिक हिंसा र दुर्व्यवहार अन्त्यका लागि संस्थागत संयन्त्रको आवश्यकता विषयक अन्तरक्रियामा बोल्दै आचार्यले भने, ‘पदाधिकारी, डिन, सहायक डिन हुने हैसियत नभएकालाई जिम्मेवारी दिएपछि यस्तै घटना हुन्छ ।’ 

आचार्यका अनुसार दलीय भागबन्डा मिलाउनकै लागि त्रिविले अनावश्यक व्ययसमेत खेपिरहेको छ । ‘भागबन्डा मिलाउन चारवटा डिन नियुक्त गरेर त्रिविलाई व्यायको अनावश्यक भार बोकाइएको छ,’ राजनीतिक नेतृत्वलाई नै दोषी ठहर गर्दै उनले भने, ‘सहायक डिन मात्रै होइन, यस्ता घटनामा अरु पनि संलग्न छन्, यस्ता घटनाले विश्वविद्यालयकै साख धरापमा परिरहेको छ ।’

सेटअप र गेट अप !

त्रिविका उपकुलपति तीर्थ खनियाँ भने प्रवृत्तिभन्दा पनि प्रणालीलाई नै दोषी देख्छन् । त्रिविको संस्थागत संरचना, विद्यार्थीको व्यवहारले नै दुर्व्यवहार निम्त्याइरहेको उनी बताउँछन् । ‘विश्वविद्यालयको संरचना कस्तो छ भन्ने कुराले पनि धेरै कुरा अर्थ राख्दो रहेछ,’ खनियाँ भन्छन्, ‘गेटअप र सेटअपले निर्धारण गर्छ ।’



विश्वविद्यालयजस्तो प्राज्ञिक स्थानमा पोसाकको भूमिका त हुन्छ नै । पोसाक विश्वविद्यालयको अनुशासन र शिक्षाको आचारसंहिता पनि हो । तर, पोसाकलाई नै दुराचारको कारण देख्नु उनको संकुचित सोचको उपज हो भन्न सकिन्छ ।

हिप्पीकालको उदाहरण दिँदै खनियाँ भन्छन्, ‘हिप्पी मुभमेन्टमा बाबुले छोरीलाई समेत अपराधीको नजरले हेर्थे ।’ यद्यपि, हिंसारहित वातावरण निर्माणमा विश्वविद्यालयले आफ्नो तर्फबाट प्रयास गरिरहेको तर पर्याप्त नभएको खनियाँले स्वीकार गरे । साथै, पठनपाठनमैत्री र हिंसारहित वातावरण बनाउन विश्वविद्यालय तत्पर रहेको उनले बताए ।



घटना शृंखला 

८ फागुनमा एक हुल विद्यार्थीले शिक्षा संकायका सहायक डिन बउवालाल साहमाथि कालो मोसो घसे । अखिल क्रान्तिकारीका त्रिवि संयोजक राजकुमार लिम्बूलगायतको समूहले साहलाई मोसो लगाउनुको कारण थियो– यौन दुर्व्यवहार ।

सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई विश्वविद्यालय हाताभित्रै हातपात गरेको आरोपमा विद्यार्थीले त्रिवि परिसरमै उनीमाथि कालो मोसो पोतेका थिए ।

सहायक डिनजस्तो मर्यादित ओहोदाका व्यक्तिले शिक्षण संस्थामै दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि त्रिवि पदाधिकारीहरुले बैठक बसेर साहलाई निलम्बन गरे । तर, उनीमाथि प्रहरीले छानबिन गरेको छैन । 

त्रिविमा यौन दुराचार, आसय करणीका घटना भएको यो पहिलो भने होइन । केही दिनअघि समाजशास्त्र विभागका संस्थापक, प्राध्यापक डा. कृष्ण भट्टचनमाथि यस्तै आरोप लाग्यो । भट्टचनले पनि शोधपत्रमाथि काम गर्ने बहानामा यौन दुर्व्यवहार गरेको बयान र आरोपसहितको समाचार काठमाडौं पोस्टमा प्रकाशित भयो । 

त्यसअघि, द रेकर्ड नेपाल अनलाइन पत्रिकाले अरु दुई विद्यार्थीले त्रिविको समाजशास्त्र विभागमा भोगेका त्यस्तै अनुभव प्रकाशन गरेको थियो । तर, दुर्व्यवहार गर्ने व्यक्तिको नाम भने खुलाएको थिएन । 

प्राध्यापकहरुको भनाइ र घटना शृंखला हेर्दा राजनीतिक भागबन्डाको आवरणभित्र आपराधिक क्रियाकलाप झाँगिदै गएको अनुमान गर्न कठिन हुँदैन ।

गुनासो सुनुवाइ समिति गठन गर्न माग 

विश्वविद्यालयमा विद्यार्थीको कुनै पनि किसिमको गुनासो सम्बोधन नहुने प्रध्यापकहरु नै स्विकार्छन् । बारम्बार दुर्व्यवहारका घटना बाहिरिँदा पनि त्रिविले सम्बोधन नगरेको उनीहरुको आरोप छ । 

शिक्षकहरुबाट दुर्व्यवहार खेप्नुपरेको गुनासो विद्यार्थीहरुबाट आइरहेको बताउँदै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले प्रश्न गरे, ‘लैंगिक हिंसा र दुर्व्यवहार चरम छ भन्ने सुन्नमा आएको छ, यस्ता गुनासा कति दिन सुन्ने र नजरअन्दाज गरिरहने ?’ 

पूर्वविद्यार्थीहरु मानुषी यमी भट्टराई, उषाकिरण तिम्सिना लगायतले आयोजना गरेको कार्यक्रममा उपस्थित डिन, सहायक डिन, प्राध्यापक र विद्यार्थी समूहले हिंसारहित विश्वविद्यालय अत्यावश्क रहेको औँल्याए । त्रिविले यस विषयलाई ध्यानपूर्वक लिनुपर्ने र दण्डसजाय सहितको व्यवस्था हुनेगरी संयन्त्र निर्माण गर्नुपर्ने सामूहिक माग थियो । 

अन्तरक्रियामा प्राध्यापकहरु डा. सुशन आचार्य, डा. अमिना सिंह, डा. रीता श्रेष्ठका साथै त्रिविका पूर्वविद्यार्थी मानुषी यमी भट्टराई, अध्ययनरत विद्यार्थीलगायतले आफ्नो धारणा र सुझाब राखेका थिए ।

  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १७:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया