बहादुरसिंह लामालाई चार मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । 

बुधबार मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिए । निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातीत रूपमा उठ्न नसकेका कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक संकटमा परेको बताए । 

बागमती प्रदेशको ११ मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन् । पाँचवटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो । सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अझै पनि प्रदेशको दुई मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ । 

बागमती प्रदेशमा पाँचवटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार २०:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया