प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

बिहान ११ बजे बसे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

संसद् नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् । सांसदको प्रश्नको प्रधानमन्त्री दाहालले तत्काल जवाफ दिनेछन् ।  

सभामुख देखराज घिमिरेको सचिवालयका अनुसार आज १५ जना सांसदले प्रश्न गर्ने छन् । नियमावलीमा पनि प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्नसक्ने व्यवस्था छ । 

सांसदहरूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्ने जानकारी सभामुखलाई गराएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो ।

उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो ।



आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  



  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ७:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया