देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरू आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ । आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरू बताउने गर्छन् ।
विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्माले बताइन् । ‘गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन’, उनले भनिन्, ‘बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन् ।’ खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ । ‘एकपटक रातभरि रतेडी खेलेका थियौँ’, उनले भनिन्, ‘हिजो आज देउडा १/२ घन्टा पनि खेल्न पाइँदैन ।’
कैलालीको जानकी गाउँपालिकाका रतिराम सापकोटालाई आजभोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन । देउडा खेल्न निकै मनपराउने उनी आधुनिक नृत्य हेर्न मन नलाग्ने बताउँछन् । ‘रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु (डिजे) बढी रमाएको देख्न सकिन्छ’, उनले भने, ‘हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो । देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ ।’
देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताए । ‘गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो’, उनले भने, ‘बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन ।’
त्यस्तै जोशीपुर– ७ लोहागढकी बासुदेवी विकलाई पनि विवाहमा बजाइने आधुनिक बाजा पटक्कै मन पर्दैन । ‘पहाडमा रातभरि रतेडी र देउडा खेल्थ्यौँ’, उनले भनिन्, ‘यो डिजे बाजा झगडा बनाउने साधन हो जस्तो लाग्छ । जुन घरमा उत्सव छ त्यहाँ युवाबीच झगडा हुने र कुटपिटसमेत हुने गर्छ । रमाइलो हेर्न जान पनि डर लाग्छ ।’
बासुदेवीले देउडा र रतेडी हेर्न नपाइने र आधुनिक बाजाको नाचगान हेर्न जाँदा पनि हल्लाखल्ला र झगडा बढी हुने भएकाले कार्यक्रममा जान छोडेको बताइन् । पछिल्ला समय रतेडी र देउडा पनि डिजे बजाएरै खेल्ने गरेको देखिन्छ ।
‘मुखले गीत भन्ने र खेल्ने पराम्परा पनि हराउँदै गएको छ’, साहित्य तथा संस्कृतिविद् डा. योगेन्द्र बजगाईंले भने, ‘आधुनिक गीतले हाम्रो संस्कृतिमा नराम्रो असर गरेको छ । हाम्रा संस्कार र संस्कृतिसँग जोडिएका परम्परागतरूपमा गाइने देउडा संरक्षणका लागि जानकार सबै लाग्नुपर्छ ।’
उनले रतेडी र देउडा सुदूरपश्चिमका संस्कृति भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘हातमा हात, पैतलामा पैतला मिलाई रतेडी र देउडा खेल्नु हाम्रो संस्कृति हो’, संस्कृतिविद् डा. बजगाईंले भने, “संरक्षणकर्मीले यसमा युवा पुस्तालाई सहभागी गराउन बढाउन योजना बनाउन जरुरी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।