राजधानी तोकेपछि अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । 

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुईसयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वनक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । 

उनका अनुसार विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सूचना जारी गरिएको छ । उनले कैलालीको सबैभन्दा ठूलो वसन्ता वन क्षेत्रमा व्यापक अतिक्रमण भएकाले सो स्थानमा अतिक्रमण खाली गर्न पत्राचार गरिएको बताए ।

यसैगरी कैलालीको चुरे गाउँपालिका–४ पनेरुवा र टाकगडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको छ । डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको जनाएको छ । 

टाकगडाका १३५ टहरा डोजर लगाएर भत्काइएको डिभिजन वन कार्यालयका अधिकृत डबल बोहराले जानकारी दिए । उनले चुरे–४ पैनेरुवामा समेत ३५० टहरा भत्काइएको बताए । सो क्षेत्रमा ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको जनाइएको छ । चुरे फेदीको टाकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका थिए । 

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्नेक्रम बढेको स्थानीयको भनाइ छ । 



सो क्षेत्रमा बाढीपीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएका पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । डिभिजन वन कार्यालयका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको छ । 

देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको बताइएको छ । यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको देखिएको छ ।  



  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १४:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया