\
तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको दाङको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सरकारको बेवास्ताका कारण सुकौरा ओझेलमा परेको हो ।
प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ ५ तलाको भ्यूटावर मात्र बनेको छ । त्यसबोहक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ । तर, त्यो पनि अलपत्र छ ।
नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन । निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ । उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुबो मरिसकेको छ । त्यही उद्यानमा दङ्गीशरण राजाको सालिक राखिएको छ । २५ लाख रुपैयाँ लगातमा त्यहाँ उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण भएको थियो ।
त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ । ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए । ‘पहिले–पहिले अलिअलि आउँथे । तर, अहिले एकजना पनि आउँदैनन्,’ उनले भने ।
दङ्गीशरण गाउँपालिका–३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो । चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ । त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए । त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए ।
सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा समस्या परेको उनको ठम्याइँ छ । सबैगरी अहिलेसम्म करिब ६/७ करोड बजेट चखौरामा गएको छ । तर सुकौरामा १ करोड रुपैयाँभन्दा बढी बजेट अहिलेसम्म परेको छैन । अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ ।
सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ ।
सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे ।
दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।
राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दङ्गीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।
पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ ।
गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रुख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रुख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।
विसं १९४२ मा दङ्गीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल रहेको जनाइएको छ ।
रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन् । तर प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।