प्रदेशसभा अधिवेशन अन्त्य : कानूनी प्रक्रिया मिचेको आरोप

धनुषा– प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यको घोषणा कानूनी प्रक्रिया मिचेर गरिएको आरोप प्रतिपक्षी दलले लगाएको छ ।  

प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले संवैधानिक र प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रदेश प्रमुखले प्रदेशसभालाई अधिवेशन अन्त्य भएको पत्र पठाउने र सो पत्र प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको मानिने भए पनि त्यस्तो नगरी अधिवेशन अन्त्य गरिएको हुँदा कानूनी प्रक्रिया मिचिएको बताए । 

फागुन १५ गते ३ बजेका लागि आह्वान गरिएको बैठकअगावै प्रदेश सरकारको सिफारिसमा फागुन १२ गते आइतबार साँझ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्रका आधारमा प्रदेशसभा अधिवेशन मध्यरातमै अन्त्य भएको सोमबार जारी सूचनामा जनाइएको छ ।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम र प्रदेशसभा कार्य सञ्चालन नियमावलीको नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको घोषणासम्बन्धी सूचना जारी गरिएको छ । 

नियमावलीको नियम ३ को उपनियम २ मा संविधानको धारा १८३ को उपधाराबमोजिम सभाको अधिवेशन प्रदेश प्रमुखले अन्त्य गरेमा सोसम्बन्धी सूचना सभामुखले बैठकमा पढेर सुनाउनेछ भनिएको छ । अर्थात् कानूनी प्रक्रिया मिचेर नै अधिवशेन अन्त्यको घोषणा गरिएको बताइएको छ । 

हुन त उपनियम ३ मा बैठक स्थगन भएको अवस्थामा अधिवेशन अन्त्य भएमा सोसम्बन्धी जानकारी सचिवले सूचनापत्रद्वारा सदस्यलाई दिने भनिएको छ । सो उपनियममा बैठक स्थगन भएको अवस्थामा मात्र सचिवले सूचना जारी गर्न पाउने व्यवस्था छ । तर फागुन १५ का लागि आह्वान गरिएको बैठक स्थगन नै नगरी प्रदेशसभाले अधिवेशन अन्त्य गर्नु कानूनी प्रक्रियाविपरीत भएको आरोप प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता यादवले लगाए ।  



उनले भने, ‘पछिल्लो बैठक हामीले अवरुद्ध गरेपछि फागुन १५ मा आह्वान गरिएको थियो । तर सो बैठक स्थगन नै नगरी अधिवेशन अन्त्य गर्नु संविधान र नियमावलीविपरीत छ । 

प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले भने अधिवेशन अन्त्य भएको कुरा आफूहरूले जानकारी पाएको तर बैठक स्थगन भएका विषयमा कुनै जानकारी नआएको बताए । उनले बैठक स्थगन नगरी एक्कासी अधिवशेन अन्त्य गर्नु गलत भएको टिप्पणी गरे ।  



प्रदेशसभाको पछिल्लो बैठक फागुन ४ मा बसेको थियो । सो बैठकमा नेपाली काङ्ग्रेसका सांसदले वीरगञ्जस्थित बिपी कोइराला उद्यानमा प्रदेश सरकारले शहीदपार्क निर्माणका लागि शिलान्यास गरेको भन्दै बैठक नै अवरुद्ध गरेका थिए । 

विवादका कारण अवरुद्ध हुन पुगेको प्रदेशसभा बैठकमा सभामुखले अर्को बैठक फागुन १५ गतेका लागि आह्वान गरेगर्नुभएको थियो । अब तेस्रो अधिवेशन सञ्चालन नभएसम्म बैठक स्थगन रहने भनी सभामुखले दोस्रो अधिवेशन अन्त्यको सूचना प्रकाशित गर्न लगाएकी हुन् । 

जेठ ३ गतेदेखि शुरु भएको दोस्रो हिउँदे अधिवेशनमा ४८ वटा बैठक बसेको र १६ वटा विधेयक पारित भएको संसद् सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिए । 

प्रदेशसभाले हालसम्म सात वटा समितिमध्ये छ वटा समितिको सभापति सर्वसम्मत चयन गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपाको आन्तरिक विवादका कारण लेखा समितिको सभापति चयन हुन सकेको छैन ।

दुई वटा अधिवेशन सम्पन्न भए पनि प्रदेश सरकारले प्रदेशको नाम, राजधानी र भाषासम्बन्धी विधेयक प्रदेशसभामा अहिलेसम्म पनि पेश गर्न सकेका छैन ।

  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार ८:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया