काठमाडौंमा १० महिनामा बैंकिङ कसुर र आर्थिक अपराधका ५ हजार ३१२ मुद्दा दर्ता

मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३ सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।  

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालू आवमा काठमाडौंमा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।   

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालू आवमा अभद्र व्यवहारसम्बन्धी २ हजार आठ, विविध अपराध ५ सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध २ सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २ सय ५७, आत्महत्यासम्बन्धी कसुर २ सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १ सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् । 

परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा ४ हजार ३ सय ४३ मुद्दा दर्ता भएका थिए । रासस





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ११:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया