कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेका बुढामगरलाई विमानस्थलमा भव्य स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेका हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । 

लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही ५ जेठको दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै हार्दिक बधाई दिए ।

‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ,’ मन्त्री किरातीले भने, ‘उहाँले विश्व समुदायलाई अथक मिहिनेत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।’ 
    
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिए । ‘आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईँहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिमबिना मेरो प्रयास सफल हुने थिएन ।’  





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १२:५२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया