लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताएकी छन् । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको आज ज्ञापनपत्र बुझ्दै उनले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाइन् । 

सरकारका प्रवक्ता शर्माले भनिन्, ‘अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ ।’

अर्थबाट रकम आउने र यदि रकम नआएको खण्डमा पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने उनको भनाइ छ । मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएको प्रस्ट पारिन् । 
    
मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हकअधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्, ‘तपाईंहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’ उनले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरिन् । 

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाईंहरुले आन्दोलन नै गर्न पर्दैनथ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् । 

ज्ञापन बुझाउने क्रममा महासंघ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासंघका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोकालगायतको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार २०:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया