चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर संख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा ४ सय २१ जना विदेशी विद्यार्थी नेपाल आउँदा ९ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।
उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा ४ सय ६ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, बंगलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।
यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा ७ सय १ जना र स्नातकोत्तर तहमा २ सय ६६ जनालाई अध्ययन अनुमति दिएको छ ।
आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले यही ८ जेठमा बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशय पत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।