Sun, 19 May, 2019


हाईहाई अंग्रेजी, बाईबाई स्थानीय ज्ञान
ज्वालामुखी लामिछाने
फरकधार / फागुन १६, २०७५

आदरणीय मेयर ज्यू,
बेलकोटगढी नगरपालिका, नुवाकोट ।

तपाईंकै नगरबासी हुनुको नाताले यो खुल्लापत्र तपाईकै नाममा लेख्दै छु । तर जुन सवाल उठाउन तपाईंलाई सम्बोधन गरिरहेको छु, त्यो सवाल भने राज्यकै नीतिनिर्माताहरुको पनि सरोकारको विषय हो भन्ने मेरो विश्वास छ ।

पाँच वर्षपछि समृद्ध नगरपालिकामा बस्ने आशा बोकेर तपाईंलाई भोट दिने जनताको मनोदशा के छ, तपाईंलाई थाहा छ ? भरोसाको पहाडमा पहिरो गइरहेको तपाईंले देख्नुभएको त छ ? विकासका नाममा खेतियोग्य जमिनमा डोजर चलाएर केवल सडक खन्ने तपाईंको पहल देखेर छक्क पर्न छाडेको पनि केही समय भइसक्यो । जल, जंगल, जमिन जस्ता जीवनका अभिन्न अवयवहरुको चिहानमाथि ठिङ्ग उभिएर ङिच्च हाँसिरहेको समृद्ध बेलकोटगढीको स्केच कति टीठ लाग्दो देखिँदो हो ! र त्यो स्केचसँगै टाँसिएर आउने तपाईंको मुहारमा गर्वबोधको उज्यालो बढी पोतिएको हुँदो हो की ग्लानिबोधको छायाँ बढी गाढा बन्दो हो ! म अचम्मित छु ।

यस्ता तमाम विषयमा विस्तृत टिप्पणी यो छोटो पत्रमा गर्न सम्भव छैन । यहाँ म नगरपालिकाले शिक्षा सम्बन्धमा लिएका केही नीतिहरुको सन्दर्भमा मात्र कुरा गर्न खोजिरहेको छु । निकै ठूलो महत्व दिएर नगरपालिकाले अघि सारेको विद्यालयमा शिक्षाको माध्यम भाषा अङ्ग्रेजी बनाउने नीतिमा नै केन्द्रित हुनेछु यो पत्रमा । 

अंग्रेजीलाई नै माध्यम भाषा बनाउने नीतिको सफल कार्यान्वयनको लागि नगरपालिकाभित्रका सबै विद्यालयलाई नगरपालिकाले नै पाठ्यपुस्तक वितरण गरिदिने कार्यनीति पनि बनिसकेको रहेछ । गुणस्तरिय पाठ्यपुस्तक र पाठ्यपुस्तकमा एकरुपताको उद्देश्य लिई नगरपालिकाले आफैं पाठ्यपुस्तक वितरणको जिम्मेवारी बहन गरेको भन्ने सुनिएको छ । पाठ्यपुस्तक आफैं खरिद गरेर वितरण गर्ने नगरपालिका र उसैगरी पाठ्यपुस्तक विद्यार्थीलाई बेच्ने निजि शैक्षिक संस्थाको अनुहार कति फरक देखिएला भन्ने प्रश्नले पनि मलाई सताएको छ ।

नीतिमै अंग्रेजी 

शिक्षाको माध्यम भाषा अंग्रेजी बनाएर विद्यालयहरुले आफ्नाे गुमिसकेको साख फेरि फिर्ता पाएका केही दृष्टान्तहरु अवश्य छन् । संकटमा परेका अझै अरु विद्यालयहरु यहि हतियारको प्रयोग गरी अस्तित्व रक्षार्थ लड्ने छन् र यो क्रममा तत्काल पूर्णविराम लाग्ने छैन् । यो कुरा पनि घाम जतिकै छर्लङ्ग छ । अंग्रेजी माध्यममा चलेका निजी विद्यालयहरुको अन्धाधुन्ध नक्कलको यो फैलिँदो आयतन भने निकै खतरनाक छ । 

शिक्षाको गुणस्तरियताको एकमात्र निर्धारक अङ्ग्रेजी भाषा हो त ? प्रत्येक निजि विद्यालयहरुमा अङ्ग्रेजी माध्यम भएकै हुनाले उनीहरुले दिइरहेको शिक्षा पूर्ण गुणस्तरिय छ त ? यति हचुवा निष्कर्षलाई दयाबाहेक अरु के गर्न सकिएला ?

अब स्थानीय सरकारले नै नीति तथा कार्यक्रममै उल्लेख गरेर यो नक्कलको आयतनलाई ह्वात्तै बढाइदिन लागेका छन् । यस्ता नीतिगत निर्णयहरु कालान्तरमा ‘वैधानिक कर्मकाण्ड’को रुपमा समेत बदलिन सक्छ । तपाईंको नगरपालिकाले गरेको नीतिगत निर्णय यस्तै नक्कलको नतिजा होइन त ?

बेलकोटगढी नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमको एउटा बुँदा यस्तो छ : ‘शिक्षाको गुणस्तरियतालाई ख्याल गर्दै अङ्ग्रेजी शिक्षालाई क्रमश गरिनेछ ।’ त्यसो त यो बुँदा आफैंमा कुहिरोको काग जस्तो गन्तव्यविहिन र अस्पष्ट छ । अंग्रेजी शिक्षालाई क्रमशः गरिनेछ भनेर केलाई संकेत गरिएको हो भन्ने भेउ पाउन सकिँदैन । तर यो बुँदाले अंग्रेजी भाषालाई शिक्षाको माध्यम भाषाको रुपमा अनिवार्य गर्ने हो भन्ने अर्थ लगाउन गाह्रो छैन । नगर कार्यालयमा अंग्रेजी भाषामा लिखित पाठ्यपुस्तक उहिल्यै आइपुगेर ‘डम्प’ भइहेको तथ्यले पनि यसैलाई थप पुष्टि गर्छ । 

उक्त बुँदाको ‘शिक्षाको गुणस्तरियतालाई ख्याल गर्दै’ भन्ने वाक्यांशले हालको शिक्षा गुणस्तरिय छैन भन्ने तितो यथार्थलाई उजागर गर्छ । तर शिक्षाको गुणस्तरियताको एकमात्र निर्धारक अंग्रेजी भाषा हो त ? प्रत्येक निजि विद्यालयहरुमा अंग्रेजी माध्यम भएकै हुनाले उनीहरुले दिइरहेको शिक्षा पूर्ण गुणस्तरिय छ त ? यी प्रश्नको जवाफ नै नखोजी नगरपालिका नीतिगत निष्कर्षमा पुगेको तथ्य भने निकै डरलाग्दो छ । यति हचुवा निष्कर्षलाई दया बाहेक अरु के गर्न सकिएला ? 

संविधानको विपर्यास

प्रिय मेयर ज्यू,

माध्यम भाषा नेपाली हुँदा नै आधारभूत शिक्षाबाट बाहिर परेका बालबालिकालाई अब झन् अंग्रेजीको भूत देखाएर तर्साउन खोज्नु मनासिव होला ?

तपाईंले नेपालको संविधान ध्यान दिएर पढ्नुभएको छैन भन्न सकिएन् । तपाईंको ज्ञानलाई चुनौति दिन त झन् मिल्दैमिल्दैन । तर नगरको शिक्षा नीति तय गर्दा भने तपाईंले महत्वपूर्ण कुराहरु बिर्सनुभएको छ । प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा लिन पाउने बालबालिकाको संवैधानिक हक खोस्न तपाईं आफैं लाग्नुभएको त होइन ? 

तपाईंले तय गर्नुभएको शिक्षा नीति अबोध बालबालिकाको भविश्यको बाटो छेक्न उभिएका डरलाग्दा पुलिस जस्तो देखिन्छ । संविधानले पूर्वतिरको बाटो देखारहँदा नगरपालिका पश्चिमतिर किन बेतोडले कुदिरहेको छ ? यहाँ मेरो चासो संविधानका अक्षरप्रति भन्दा बढी ज्ञान आर्जनको उत्तम विकल्पप्रति हो । मेरो मस्तिष्कको भित्ताभरी ती अबोध बालबालिकाका अनुहारहरु टाँसिएका छन् जो मातृभाषामा शिक्षा प्राप्त गर्न हकबाट वञ्चित हुँदैछन् । माध्यम भाषा नेपाली हुँदा नै आधारभूत शिक्षाबाट बाहिर परेका बालबालिकालाई अब झन् अँग्रेजीको भूत देखाएर तर्साउन खोज्नु मनासिब होला ?

अनिवार्य अंग्रेजी

लोकतन्त्रमा संभव भएसम्म विकल्पहरु खुल्ला छोडिन्छ । सामर्थ्य, रुची र आवश्यकता अनुसार विकल्पको छनौट गर्ने स्वतन्त्रता नागरिकलाई दिइन्छ । ‘अनिवार्य अंग्रेजी’को रटानले आधारभूत शिक्षाको जग मात्र होइन लोकतन्त्रकै जग कमजोर पार्ने निश्चित छ । ‘अनिवार्य संस्कृत’को नीतिविरुद्ध आन्दोलन गर्ने शक्तिको राम्रै उपस्थिति छ स्थानिय तहमा त्यही शक्तिले पनि अनिवार्य अंग्रेजीको नीतिमा भने हात उठाएर समर्थन गर्नुले कतातिर संकेत गरिरहेको छ ? लोकतन्त्रमा ‘अनिवार्य’ शब्दको बढ्दो व्यापकता उराठलाग्दो बनेको छ । 

अंग्रेजी भाषा नै शिक्षा ?

संस्कृतको ‘शिक्ष्’ धातुमा ‘आ’ प्रत्यय लागेर निर्मित हुने शब्द हो– शिक्षा । ‘शिक्ष्’ को अर्थ विद्योपदाने अर्थात विद्याको उपदान दिने भन्ने हुन्छ । उपदान शब्दले दान शब्दसँग नजिकको तादाम्यता राख्दछ । निष्कर्ष यो हो की विद्याको दान गर्ने प्रक्रिया नै शिक्षा हो । ज्ञान, सिप र कौशलको समष्टि रुप नै शिक्षा हो भन्ने विद्वानहरुको मान्यता छ । शिक्षाको सर्वाधिक महत्वपूर्ण पक्ष ‘ज्ञान’ हो भन्न हिच्किचाउनु पर्दैन । 

सिद्धार्थ गौतम (बुद्ध) भन्नुहुन्छ, ‘ज्ञानको एकमात्र स्रोत अनुभव हो । बाँकी सबै सुचनाहरु हुन् ।’ अनुभवविना ज्ञान र ज्ञान विना शिक्षा कल्पनातित बन्न जान्छ । अनुभव शब्दातित, भाषातित हुन्छ भन्छन् विद्वानहरु । अनुभव अभिव्यक्तिको सबैभन्दा प्रभावकारी मातृभाषा हो । अर्थात अनुभवको निकटतम स्वरुपको प्रकटिकरण मातृभाषाबाट मात्र सम्भव छ । सरल शब्दमा भन्नुपर्दा अनुभव प्रकट हुने सबैभन्दा शक्तिशाली माध्यम ‘सपना’ देखिने भाषा हो । 

अंग्रेजी भाषाको माध्यमबाट ‘सुचना’ संभव छ । अंग्रेजी ज्ञान होइन, सुचना पनि होइन । यो एउटा भाषा हो जसले सुचनासम्म पुग्ने साधनको रुपमा काम गर्नसक्छ । अ‌ंग्रेजी भाषाको वाहनमा सवार भएपछि सुचनाको सबैभन्दा ठूलो भण्डारसम्म पुगिन्छ, अन्य भाषाको वाहनामा गरिने यात्राले त्यहाँसम्म नपुर्याउन पनि सक्छ । कुरा यहाँसम्म ठिकै हो । अंग्रेजी माध्यमबाट शिक्षा दिने अधिकांश स्कुल, कलेजहरुको लोकप्रियताले अंग्रेजी आफैंमा ज्ञान, सिप, कौशल सबैथोक हो भन्ने भ्रमको खेती गरेको छ । उक्त खेती अभिभावकहरुको मस्तिष्कको गह्रागह्रामा खुब सप्रिएको छ । नगरपालिका आफैं यो भ्रमलाई थप मलजल गर्दै असिम खुसि र गौरवको महसुस गरिरहेछ । म भने तपाईको मुहारमा दौडिरहेको खुसी देखेर लज्जित छु । 

एक भाषा कि धेरै भाषा ?

एकल भाषावाला मानव समाज यस्ता थुप्रै ज्ञानहरुको चिहानमाथी मात्रै उभिन सक्छ । त्यस्ता थुप्रै ज्ञान सहिद बनाइएका भाषाहरुमा थेग्रिएर बसेका छन् ।

भाषा अभिव्यक्तिको माध्यम हो । यतिमात्र होइन, भाषा ज्ञानको समृद्ध संसारमा प्रवेश गर्ने ढोकाको साँचो पनि हो । अनुभवहरुको श्रृङखलाको परिष्कृत स्वरुप हो ज्ञान । अनुभव चाहिँ जीवन यात्राको विविध सङघर्षहरुको स्मृति हो । जीवन निर्वाहको क्रममा आउने समस्या, समस्याको समाधानका उपाय, वरिपरिको वस्तुजगत, उत्पादन सम्बन्ध आदि अनुभवजन्य पक्ष हुन र यिनको प्रशोधनबाट ज्ञान निर्माण हुन्छ । जीवन सङ्घर्ष, जीवन निर्वाहको क्रममा आउने समस्या, समाधानका उपाय ‘टाइम एण्ड स्पेस’ अनुसार फरक पर्छ र टाइम एण्ड स्पेस अनुसारको ज्ञानमा विविधता हुन्छ । 

अंग्रेजी भाषा बोलिने क्षेत्रमा उत्पादित ज्ञानको पूर्ण तादाम्यता नेपाली वा मैथली वा हिन्दी भाषा बोलिने क्षेत्रमा उत्पादित ज्ञानसँग हुन सक्दैन । यसर्थ कुनै निश्चित स्थान विशेषको ज्ञानलाई अर्काे स्थानको भाषाले पूर्ण रुपमा बोक्न गर्न सक्दैन । अर्थात कुनै स्थान विशेषको ज्ञानको गुरुत्व उक्त स्थानमै प्रयुक्त भाषाले मात्र थेग्न सक्छ । एकल भाषावाला मानव समाज यस्ता थुप्रै ज्ञानहरुको चिहानमाथी मात्रै उभिन सक्छ । त्यस्ता थुप्रै ज्ञान शहिद बनाइएका भाषाहरुमा थेग्रिएर बसेका छन् । मानव जीवनलाई सार्थक र सरल बनाउन धेरै भन्दा धेरै ज्ञानको आवश्यकता बढ्दै जाँदा शक्तिशाली भाषाहरुको जाँतोमूनि पिसिएका भाषासँगसँगै हराएका ज्ञानहरुको खोजी निकै कठिन बनेको छ । यस्तो स्थितिमा मेरो नगरपालिका अंग्रेजीलाई अप्रत्यक्ष रुपमा ज्ञान विनासको लम्बे अभियान हाँक्ने अधिकार दिन आतुर छ । 

स्थानीय भाषा र संस्कृतिको रक्षा गर्ने सम्बन्धमा पनि नगरपालिकाले अवश्य नीति बनाएको छ । तर ज्ञान प्राप्तिको जिम्मेवारी अंग्रेजीलाई छोडिदिएर यो नीति अपनाउनु केवल चुरोट उत्पादन गर्दै बोक्रामा ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ लेख्नु जस्तै हो । यु्ग पाठक लिखित ‘माङ्गेना: नेपाल मन्थन’ पुस्तक लोकार्पण कार्यक्रममा विद्वान बालकृष्ण माबुहाङ भन्दै थिए– नेपाली भाषाको आडमा अन्य भाषाभाषिहरुमाथि गरिएको अतिक्रमण कालान्तरमा नेपाली भाषाकै चिहान खन्ने हतियार हुनेछ । अन्य भाषा सकिएपछि नेपाली भाषामाथिको अतिक्रमणको समय आउनेछ र त्यतिखेर नेपाली भाषाले  सहयोग माग्नका लागि अरु भाषाहरु रहने छैनन् । 

अनावश्यक होइन अंग्रेजी

मेयर ज्यू,

तपाईंलाई लाग्यो होला यो मान्छे भयङ्कर अंग्रेजीद्वेषी रहेछ । कुरो त्यस्तो होइन । यही नगरपालिका अन्तर्गतकै एक स्कुलको अंग्रेजी भाषाको शिक्षक म पनि हुँ भन्ने जानकारी रहोस् ।

विश्वमा रहेका सुचनाहरुमध्ये झण्डै एक तिहाईभन्दा बढी सुचनासम्म त केवल अंग्रेजी भाषामार्फत पुग्न सकिन्छ । अंग्रेजी भाषामार्फत जाँदा पचास प्रतिशत भन्दा बढी सूचनालाई पहुँचमा ल्याउन सकिन्छ । सिप र कौशल अंग्रेजी माध्यमबाटै छिटो प्राप्त गर्न सकिने भएको छ । अंग्रेजीको उपयोग गरि प्राप्त सूचनाको प्रशोधनबाट ज्ञानका अवयवहरुको निर्माण हुन सक्छ । बालबालिकालाई अंग्रेजी भाषाको पहुँचमा रहेर सूचना लिन सक्ने गरी भाषिक सक्षमता प्रदान गर्नु अत्यावश्यक छ । तर यसो गर्न सम्पूर्ण विषयहरुको जवर्जस्ती अंग्रेजीकरण गर्नु त पक्कै पर्दैन । 

अन्य भाषा सकिएपछि नेपाली भाषामाथिको अतिक्रमणको समय आउनेछ र त्यतिखेर नेपाली भाषाले सहयोग माग्नका लागि अरु भाषाहरु रहने छैनन् ।

अंग्रेजी भाषाको वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै नेपाल सरकारले कक्षा एकदेखि नै अनिवार्य अंग्रेजी विषय राखेको छ । यसको प्रभावकारी शिक्षण गर्ने गराउने तरिकाबारे सोचौँ । नगरपालीकाले अंग्रेजी भाषामा समेत प्रकाशन हुने गरी बालपत्रिका निकाल्न तयारी थालौँ । भाषा अधिव्यक्तिको सशक्त माध्यम हो ।

अंग्रेजीका राम्रा नाटकहरु बालबालिकाबाटै मञ्चन गर्ने योजना निर्माण गराैं । शिक्षकलाई तालिमको प्रभावकारी उपलब्धताबारे पनि विचार गरौँ । बालबालिकालाई सिर्जनशिल ढङ्गले अंग्रेजी सिकाउन कसरी सकिन्छ ? चिन्तन गरौँ । विशेषज्ञ झिकाउँ र शिक्षकलाई सिकाऔँ । चलचित्र मानव संवेदनालाई हल्लाउने प्रभावकारी माध्यम हो । शिक्षाप्रद अंग्रेजी भाषाका सिनेमाहरु प्रत्येक विद्यालयमा प्रर्दशन गर्न सकिने गरी व्यवस्थापन गरौँ । अनि मुल्याङ्कन गरौँला भाषाशिक्षणको प्रभावकारीताबारे । 

स्थानिय पाठ्यक्रम

आधारभुत तहसम्म स्थानिय पाठ्यक्रमको लागि निश्चित प्रतिशत अंकभार र घण्टी समेत तोकेर पाठ्यक्रम निर्माण गर्न निति नै सरकारले बनाएको तथ्य नगरपालिकालाई थाहा छैन भन्नु माछालाई खोलाको ज्ञान छैन भने सरह हुनेछ । तर स्थानीय पाठ्यक्रम निर्माणमा नगरपालिकाको बेवास्ताले जन्मनै नपाई स्थानीय पाठ्यक्रमको भ्रुण हत्या हुने सम्भावना बढ्न थालेको छ । स्थानीय पाठ्यक्रम निर्माणमा यो मौनता र अंग्रेजी भाषालाई शिक्षाको माध्यमभाषा बनाउने त्यो कोकोहोलो ! नगरपालिका र केन्द्र सरकारको विरोधाभास हो वा कार्य प्रक्रियामा देखिएको अन्तर मात्र हो यो ? 

विश्वव्यापिकरणको ज्वारभाटाबाट भाषा र संस्कृतिलाई जोगाई स्थानीय ज्ञान प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रम अपरिहार्य छ । तर नगरपालिका भने निरोको भाँती मुरली बजाई बसिरहेछ । विद्यार्थीले अपनत्व अनुभूत गर्नसक्ने विषयमा नियतवस गरिएको ढिलाई र अंग्रेजीकरणमा देखिएको अशोभनीय हतारोमा कतै नियतमै खोट त छैन ? ज्ञान जनताबाट लिनुपर्छ–पाइन्छ भन्ने माओत्से तोङको विचारको उल्टो हिड्नेहरु माओकै समर्थक कसरी हुन सक्छन् ?

भविश्यको चित्र

डियर मेयर साप,

श्रमप्रति व्यापक घृणा जन्माउने ‘जीन’ अहिलेको शिक्षामा व्याप्त छ । अझ निजि कलेज अनि निजि स्कुलको शिक्षा प्रणालीमा त यो ‘जीन’ व्यापक प्रभावशाली देखिन्छ । अप्रत्यक्ष ठगी, छली र कामचोर प्रवृत्तिको हालीमुहालीले समाज अहिले आक्रान्त छ । अब के होला ? म कल्पना गरेरै निशब्द छु ।

नगरपालिकाले निर्माण गरेको शिक्षासँग सम्बन्धित माथि उल्लेखित बुँदाको पूर्ण र सफलतापूर्वक कार्यान्वयन भएको परिकल्पना गरौँ । त्यसो भइसकेको केही वर्षपछि स्थिति के होला ?

सुरुका केही वर्षमा यो प्रभावशुन्य रहन्छ । किनकी कक्षा एक, दुई र तीनमा अधिकांश स्कुलले अंग्रेजी माध्यमकै पाठ्यपुस्तक लागु गरिरहेका छन् । यो नीति पनि त्यहि क्रमकै निरन्तरता मात्र हुनेछ । कक्षा चारमा लागु हुनेबेलामा तपाईंलगायत तपाईंको टिमको अवधि समाप्त हुनेछ । दोस्रो कार्यकालको लागि पनि तपाईं नै निर्वाचित हुने सम्भावानाबारे अहिले अनुमान नगरौं । नितिगत निर्णय भएको कारण तपाई नहुँदा पनि कार्यान्वयनको निरन्तरता अवश्य रहिरहनेछ र यो न्युनतम कक्षा बाह्र सम्म पुगेर मात्र रोकिएला जस्तो देखिन्छ । 

ज्ञान निर्माणको लागि माटो निर्माण जस्तै लामो समयको अनुभव र ग्राह्य सुचनाबीचको घर्षण जरुरत हुुन्छ । यो क्रमशः धिमा गतिमा चलिरहन्छ । सुचना र अनुभवको घर्षणले गुणत्मक फड्को नमार्दासम्म यो प्रभावहिन जस्तो लाग्छ । ज्ञान निर्माण प्रक्रियामा सहभागि शिक्षक, विद्यार्थीहरुको लागि अनुभव र सूचना दुवै कच्चा पदार्थ अंग्रेजीमाफर्त आयातित हुनेछन् । किनकी भाषाको ठूलो प्रभाव नकार्न सकिदैन । गुरु शब्दको गुरुत्व सर शब्दले बोक्न सक्दैन । हेल्थ शब्द स्वास्थ्य जस्तो शब्दको भार संवाहन गर्न सक्दैन । शब्दहरुले बोक्ने अर्थ क्रमशः कम ओजनयुक्त हुन थाल्दछन् ।

पूर्वीय दर्शनबाट निर्मित थुप्रै ज्ञानका अवयवहरु हल्काफुल्का अर्थमा प्रयुक्त हुन थाल्नेछ । मौलिकतामा आधारित ज्ञानको कायामा रक्तसञ्चार कम हुँदै जानेछ । तपाई रहनुभएको पार्टिले भन्ने गरेजस्तो नेपाली माटो सुहाँउदो विकास र समृद्धि केवल पानीका फोका बन्नेछन् । पचास वर्षपछि कल्पना गर्दा त अधिकांश भाषा र नेपाली भाषाका पनि अधिकांश शब्दहरु इतिहासको गर्तमा समाधिस्त भइसकेको हुनेछ ।

निकै न्युन शुल्कमा बोर्डिङको जस्तो शिक्षा बालबालिकाले स्कुलमै पाउन सक्छन् । तर बोर्डिङको जस्तो शिक्षा नै हाम्रो लक्ष्य हो त ? बोर्डिङमा थुप्रिएको विद्यार्थीको घनत्व कम हुनेछ र सरकारी स्कुलमा चहलपहल बढ्ने छ । हाम्रो उद्देश्य यत्ति हो ?

श्रमप्रति व्यापक घृणा जन्माउने ‘जीन’ अहिलेको शिक्षामा व्याप्त छ । अझ नीजि कलेज अनि नीजि स्कुलको शिक्षा प्रणालीमा त यो ‘जीन’ व्यापक प्रभावशाली देखिन्छ । अप्रत्यक्ष ठगी, छली र कामचोर प्रवृत्तिको हालीमुहालीले समाज अहिले आक्रान्त छ । अब के होला ? म कल्पना गरेरै निशब्द छु ।

भर्खर केही हुँदैन र अकस्मात पनि केही हुँदैन  । सुस्त गतिमा हुँदै जान्छ जे हुनुपर्ने हो । खल्तीमा पैसा नहुने मान्छे केही पनि काम छैन भन्ने चेतनाको खेती भइरहेको अवस्थामा थप सुधार हुनेछ र त्यतिखेरको चेतनाको प्रतिनिधित्व गर्ने गीत हुनेछ  –अंग्रेजी भाषा नजान्ने मान्छे क्यै पनि काम छैन । गीत नै पनि नेपाली भाषामा गाउने रुचि बाँकी रहला कि नरहला ? आगे तपाईको जो मर्जी । 


यो पनि नछुटाउनुहोस्