लोसपा वन मन्त्रालय लिएर मधेस सरकारमा सहभागी, रमेशप्रसाद कुर्मीले मन्त्रीको शपथ लिँदै

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीको नेतृत्वमा सो पार्टी सरकारमा सहभागी भएको हो । 

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको सो पार्टीका मधेस प्रदेश सचिव रामविनोद चौधरी पप्पुले जानकारी दिए । ‘वन तथा वातावरण मन्त्रीको टुंगो लागे पनि सोही मन्त्रालयको राज्यमन्त्रीको नाम भने पार्टीभित्र टुंगो लाग्न बाँकी रहेको छ,’ चौधरीले भने,‘राज्यमन्त्रीको नाम पछि टुंगो लाग्छ, तत्काल आज साँझ ५ बजे वन मन्त्रीको रूपमा कुर्मीले शपथ लिन लागेका छन् ।’

सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् ।

गत २९ पुस २०७९ मा मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री यादवले १२ माघमा विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए ।

त्यस्तै, जसपाबाट गत २० माघमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएकी सुरिता साह पनि मन्त्रालयविहीन बनेकी छन् । उनको जिम्मेवारी पछि तोकिने बताइएको छ । सामाजिक विकास राज्यमन्त्री शेख अबु कलाम आजाद र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जयकुमार यादवलाई पनि मन्त्रालयविहीन बनाइएको छ । उनीहरूको जिम्मेवारी पनि पछि तोकिने भएको छ ।



मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि २९ पुस २०७९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री यादवलाई ४ माघमा बसेको प्रदेशसभा बैठकमा १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

१० दलमध्ये ७ दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।



त्यसपछि गत २१ चैतमा नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीको निर्देशनपछि एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका थिए । 

  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १३:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया