गणतन्त्रले भ्रष्टाचारलगायत विकृति बढ्यो, तर पछाडि फर्किने कुरा हुँदैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन् ।

उनले भनिन्, ‘अब पछाडि फर्किने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउन सक्छ, तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ ।’

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । सरकारको प्रवक्तासमेत रहेकी शर्माले भनिन्, ‘गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए, के–कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका सङ्घर्षलाई पनि हामीले भुल्नु हुँदैन ।’

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरूले गणतन्त्रका निम्ति गरेको कठिन सङ्घर्ष बिर्सिन नहुने बताइन् ।

गणतन्त्रमा भएका कमीकमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताइन् । गणतन्त्र प्राप्तिका लागि आम नागरिकका सपना र अपेक्षा,  गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।  





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १४:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया