मुख्यमन्त्रीले त्रुटि सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेशसभा बैठक सुचारु, विषयगत समितिमा हेरफेर

मुख्यमन्त्री सरोजकुमार यादवले त्रुटि सच्याउने प्रतिबद्धता जनाएपछि बिहीबारको मधेस प्रदेशसभा बैठक नेकपा एमालेका सांसदरुले चल्न दिएका छन् । बिहीबार दिउँसो बसेको मधेस प्रदेशसभाको पहिलो अधिवेशनको १४औं बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले सदन अवरुद्ध गरेका थिए ।

सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर आफ्नो ठाउँबाट उठेर यसअघि बुधबारको बैठकमा आफूहरुले सशर्त अनुदानको विषयमा उठाएको सवालमा सरकारबाट जवाफ मागेका थिए । उनले जवाफ नपाएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

ठाकुरले सशर्त अनुदानको विषयमा हिजो पक्ष र विपक्षका सम्पूर्ण माननीयले आवाज उठाउँदा पनि सरकार पक्षबाट केही जवाफ नआएको र त्यसको जवाफ नआएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।  

नेकपा एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले आफूहरुले सदनमा कुनै पनि विषय उठान गर्दा सरकार कानमा रुइ हालेर बस्नु अशोेभनीय रहेको बताए ।  

उनले भने, ‘यो सदनमा हामी आएर बोल्नुको अर्थ के ? हामी पटक–पटक सभामुखमार्फत यो विषय सरकारलाई रुलिङ होस्, सरकारलाई सूचना होस् । हिजो सरकारको मुख्यमन्त्री र सम्बन्धित मन्त्रीसमेत छँदा यी विषयवस्तु त सदनलाई अवगत त हुनुपर्यो नि ! हामी यो विषयमा हिजो छानबिन समितिको माग गरेका थियौँ । अहिले सरकारले यो विषयमा जवाफ नदिँदा हामी खाली यो सदनलाई अनिर्णयको बन्दी, खाली गफको केन्द्र बनाउन चाहँदैनौँ । त्यसैले सभामुखमार्फत यो विषयमा कमसे कम सरकारबाट जवाफ वा हामीले राखेको विषयवस्तुमा सम्बोधन गरियोस् । सदनलाई मर्यादित तरिकाले हाम्रो पार्टीले अगाडि बढाउन चाहन्छौँ । कृपया यसमा विचार गरियोस् ।’

त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । १० मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टा ढिलो सुरु भएपछि बैठकको सुरुवातमै सभामुख मण्डलले मुख्यमन्त्री यादवलाई बोल्न समय दिएका थिए ।



मुख्यमन्त्री यादवले सशर्त अनुदानको विषयमा बोल्दै भने, ‘हामी सबैलाई थाहा छ मधेस सरकार गठन भइसकेपछि तीन/तीनवटा चुनाव आइसक्यो, राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचन । त्यसमा हामीहरु थोरै व्यस्त भयौँ, आचारसंहिता पनि लाग्यो, काम गर्नमा कठिनाइ भयो । सशर्त अनुदानको सवालमा माननीय सदस्यहरुसँग जति समन्वय गर्नुपर्ने थियो त्यति भएन । अब बजेट बनाउनमा पनि र नीति तथा कार्यक्रममा पनि सबै दलका नेताहरुसँग समन्वय गरेर हामी अगाडि बढछौँ । र, खास गरेर सशर्त अनुदानमा हामीले कार्यविधि संशोधन गरेर सबैजनाको सल्लाह सुझावअनुसार पालिकाहरुमा कति रकम पठाउने त्यो निर्धारण गरेर पठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’



मुख्यमन्त्री यादवले सरकारी गाडीको दुरुपयोग सम्बन्धमा आफूले आजै सबै सचिवहरुलाई आफ्नो कार्यकक्षमा बोलाएको र तीन दिनभित्र एउटा पनि प्रदेश सरकारका सरकारी गाडी जुन व्यक्तिले चढ्न पाउँछ त्योबाहेक कसैले नचढने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारका गाडीहरु जहाँ पनि गएको छ, त्यो सबै तीन दिनभित्र फर्काएर ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस्तै, सिरहाको पूर्वाधारका इन्जिनियरसम्बन्धी उठेको कुरामा आजै बिहान १० बजे इन्जिनियरलाई आफूले मुख्यमन्त्री कार्यालयमा बोलाएर आवश्यक निर्देशन दिइसकेको उनले सुनाए ।

सिरहा अस्पतालमा परीक्षामा धाँधली भएकोबारे पनि आफूले हिजै त्यहाँको मेसुलाई बोलाएर सोधपुछ गरेको मुख्यमन्त्री यादवले बताए । उनले परीक्षा भए पनि नतिजा अहिलेसम्म प्रकाशन नभएको र त्यहाँ कुनै किसिमको धाँंधली नभएको जानकारी आफूले पाएको कुरा सदनमा सुनाए ।

मुख्यमन्त्री यादवले भने, ‘कुनै पनि मन्त्रालयमा कुनै पनि किसिमको चलखेल, बिचौलियाको काम कम्तीमा मेरो पालोमा हुँदैन । नीति तथा कार्यक्रम र बजेट निर्माणमा पनि सम्पूर्ण सदस्यसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

विषयगत समितिमा हेरफेर

प्रदेशसभा बैठकबाट विषयगत समितिहरु हेरफेर गरिएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरुमा रहेका समिति सदस्यहरुको समिति हेरफेर सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, प्रमुख सचेतक लखन दास, प्रदेशसभा सदस्य शारदादेवी थापा र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंहलाई विषयगत समितिहरुमा हेरफेर गरिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक लखन दासलाई सार्वजनिक लेखा समितिबाट अर्थ तथा योजना समितिमा, कृषि तथा भूमि व्यवस्थापन समितिमा रहेकी शारदादेवी थापालाई सार्वजनिक लेखा समितिमा, केशव रायलाई प्रदेशमामिला समितिमा, मोहम्मद जैद आलमलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिमा, नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अर्थ तथा योजना समितिमा, प्राकृतिक स्रोत तथा वातावरण समितिमा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृषि तथा भुमि व्यवस्थापन समितिमा प्रदेशसभा सदस्य शत्रुधन प्रसाद सिंह र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंहलाई महिला, बालबालिका तथा सामाजिक समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ ।

प्रदेशसभाको अर्को बैठक जेठ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार २०:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया