नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष बयान दिँदै प्रतिवादी

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी कार्यमा पक्राउ परेका १६ जना प्रतिवादीले आजदेखि न्यायाधीशसमक्ष बयान दिँदै छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकोमा पक्राउ परेका १६ जना प्रतिवादीहरूले आजदेखि न्यायाधीशसामु बयान दिने भएका हुन् ।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ । जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले बुधबार शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेको थियो ।    

प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रहेका छन् ।

यस्तै, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ ।   



मुद्दा दायर भएका १४ जना भने अझै फरार रहेका छन् । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापाका पुत्र प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्मू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी रहेका छन् ।     

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरेको छ । 



  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ७:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया