काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने सेमिफाइनलमा उज्वेकिस्तानले भारत तथा काजकस्तानले घरेलु टोली नेपालको सामना गर्दै छन् ।
नेपाल र काजकस्तानबीचको दोस्रो सेमिफाइनल साँझ ५ बजे सुरु हुनेछ । काजकस्तानलाई जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोली मानिएको छ । समूह ‘बी’ विजेता काजकस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ ।
समूह ‘ए’ मा दुईमा जित र एक खेलमा हार बेहोरेको नेपाल समूह उपविजेता बनेको थियो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले भारतसँग ३–१ सेटको हार बेहोर्यो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।
नेपाल आज एसियालीदेखि विश्वस्तरसम्म नै खेल्दै आएको काजकस्तानलाई हराउँदै फाइनलको यात्रा गर्ने सोचमा छ । लगातार तेस्रोपटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपाललाई हराउँदै काजकस्तानको सोच पनि फाइनल पुग्नु हुनेछ ।
नेपाल र काजकस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । भारत अपराजित रहँदै समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल पुग्यो । उज्वेकिस्तान समूह ‘बी’ को उपविजेता टोली हो ।
नेपाल भलिबल संघको आयोजनामा भएको यस प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।