कोही किन ‘बर्बाद’ हुन्छ ?

४ जेठ ०८० बिहान धनगढीकी २६ वर्षीया डा. प्रसन्ना शाह आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन् । उनी धनगढीकै मायामेट्रो अस्पतालमा कार्यरत थिइन् । डा. शाह मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसी र डा. शाह कार्यरत अस्पतालकै डा. सन्दीप भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा शाहका पूर्वप्रेमी केसी र हालका प्रेमी भट्टराईलाई अनुसन्धानकालागि नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



६ जेठ ०८० मा रामेछाप घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरिन् ।

उनले दिउँसो पौने २ बजेको आसपासमा आफ्नै कोठामा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनले शरीरमा आगो लागिसकेपछि छटपटाउँदै घर बाहिर आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।





२८ वैशाख ०८० चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले झुन्डिएर आत्महत्या गरिन् । बिडीएस चौथौ वर्षमा अध्ययनरत पोखराकी २१ वर्षीय सिम्रन थापाले बुधबार बिहान ११ः३० मिनेटमा आत्महत्या गरिन् । 

परीक्षा दिइरहेको समयमा थापालाई चिट चोरेको आरोपमा शिक्षकले उनलाई परीक्षा हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै थापाले आफ्नो कोठामा गएर आत्महत्या गरेको जनाइएको छ ।





१९ वैशाख ०८० मा चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर बेलचोकमा आफ्नो अफिसको कोठाभित्र झुन्डिएको अवस्थामा व्यवसायी तथा नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत फेला परे । कँडेल झुन्डिएको कोठामा सुसाइट नोटसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

माथी उल्लेखित घटनाहरुले नेपाली समाज निराशातिर गइरहेको भान हुन्छ । समाजमा आत्महत्याका घटना दिनानुदिन बढ्दै जानुका पछाडि अनेक कारण भएको विज्ञहरूको बुझाइ छ । 

यसकारण भइरहेका छन्, आत्महत्याका घटना

पछिल्लो पाँच वर्षमा १७ हजार ४३४ पुरुष, १० हजार ८५१ महिला, १ हजार २०७ बालक र १ हजार ९९८ बालिकाले आत्महत्या गरेका छन् । आत्महत्याको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै देखिन्छ ।

पछिल्लो पाँच वर्षमा २५ हजार ४६९ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । त्यसैगरी, ५ हजार ५०९ जनाले विष खाएर, आगो लगाउने ६७ जना, हाम फाल्ने २११ जना, करेन्ट लगाएर ५ जना, औजार तथा हातहतियार प्रयोग गरी ७९ जना, डुबेर १२९ जना र विस्फोटक पदार्थबाट १ जनाले आत्महत्या गरेका छन् । 

यस्तै प्रदेश अनुसार प्रदेश नम्बर १ मा ६ हजार ८१०, प्रदेश नं २ मा ४ हजार २८५ प्रदेश नं ३ मा ४ हजार ४६६, प्रदेश नं ४ मा ३ हजार १५०, प्रदेश नं ५ मा ६ हजार २४१, प्रदेश नं ६ मा १ हजार ४२३, प्रदेश नं ७ मा २ हजार ७४७ जनाले आत्महत्या गरेका छन् । 

नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाले उपलब्ध गराएको तथ्याङ्क हेर्दा विगतको वर्षमाभन्दा आत्महत्याको घटना त्यति धेरै बढेको छैन । यद्यपि आत्महत्याका घटना भइरहेका छन् । एउटा व्यक्तिले के कारणले आत्महत्या गर्छ वा कुन कुराले त्यसका लागि प्रेरित गर्छ भन्ने पहिचान गरेर मानसिक स्वास्थ्यबाट सम्बोधन गर्न सकियो भने आत्महत्याका घटना रोकथाम गर्न सकिने मनोचिकित्सक सुमनप्रसाद अधिकारी बताउँछन् । 

उनका अनुसार प्रायः डिप्रेसनको कारणले आत्महत्याको सोच आउँछ । डिप्रेसन हुनुका पनि आ–आफ्नै कारण हुन्छन् । बेरोजगारी, घरायसी समस्या, आर्थिक समस्या, ऋण, व्यापार घाटा नै डिप्रेसनको मुख्य कारण हुन् । उनी भन्छन्, ‘धेरै आत्महत्याको कारणमध्ये डिप्रेसन नै प्रमुख हो । यसबाहेक अन्य अवस्थामा कडा खालको मानसिक रोगले पनि आत्महत्या निम्त्याउँछ । यसबाहेक अत्यधिक रिस आउने र चाँडै आवेगमा आउने व्यक्तिहरूले पनि आत्महत्याको बाटो रोज्छन् ।’ 

यस्तै, मानसिक, आर्थिक, सामाजिक, जैविकजस्ता कारणहरु पनि आत्महत्याका घटना निम्तिने गरेको मनोचिकित्सक बासुदेव कार्की बताउँछन् । उनका अनुसार नेपालमा औसत १७–१८ जनाले दैनिक आत्महत्या गर्छन् । आत्महत्या एक जनस्वास्थ्य समस्या हो । ९०–९५ प्रतिशत आत्महत्यामा मानसिक स्वास्थ्य प्रत्यक्ष जोडिएको हुन्छ । मानसिक स्वास्थ्यमा पनि आत्महत्याको मुख्य कारण डिप्रेसन रहेको छ । 

केही वर्ष पहिले ४५ वर्ष कटेपछि आत्महत्या बढी हुन्छ भन्ने कुरा देख्ने, पढ्ने गरेका थियौँ तर अहिले सरसर्ती हेर्दा २० देखि ३० वर्षको उमेर आत्महत्या बढीरहेको पाइएको सरोकारवालाहरुको भनाइ छ । किशोराअवस्था पार गरिसकेपछि करियर बनाउने तरखरमा रहेका, पढाई, प्रेममा असफलता, परीक्षामा अनुत्तिर्ण, लागूपदार्थ तथा मादक पदार्थको सेवन गर्नेहरूले आत्महत्या गरेको देखिन्छ,’ डा. अधिकारीले भने ।

‘पछिल्लो समयमा बालबालिकाहरूले पनि आत्महत्या गरिरहेका घटना सार्वजनिक भइरहेका छन्,’ डा. अधिकारी भन्छन्, ‘जसको प्रमुख कारण सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालमा सहज पहुँचका कारणले पनि आत्महत्या बढावा दिइरहेको छ ।’ उनका अनुसार टिकटक, फेसबुकमा देखाइएको सामाग्रीको नक्कल गर्न खोज्दा पनि आत्महत्याको घटना हुन पुग्छ । सामाजिक सञ्जालमा देखिएका सामाग्रीको नक्कल गर्न खोज्दा पनि बालबालिकाकोे आत्महत्या घटना बढिरहेको अनुमान गर्न सकिन्छ ।  

आत्महत्या गर्ने सोच भएकाले प्रायः पूर्व संकेत दिने गरेको चिकित्सहरुको भनाइ छ । डा. अधिकारीका अनुसार आत्महत्या गर्नुपूर्व निराश हुने, राती निन्द्रा नपर्ने, खाना कम खाने, कम बोल्ने, दिक्क, झर्को मान्ने, सधै बोलिरहन मान्छेसँग बोल्न बन्द गर्ने जस्ता लक्षण देखिन्छ । कतिपय व्यक्तिहरूले डायरी तथा सुसाइट नोट पनि लेख्ने गरेको उनी बताउँछन् । केही प्रतिशतलेमात्र आनीबानीमा परिवर्तन नदेखाउने डा. अधिकारीको तर्क छ । 

आत्महत्या न्यूनीकरण,सरकारलाई चुनौती 

सरकारले आत्महत्या न्यूनीकरण गर्ने लक्ष्यसहित सूचक नै राखेर सन् २०१४ बाट काम सुरु गरेको थियो । सन् २०१५ मा प्रति एक लाखमा १६ जनाले आत्महत्या गरेका देखिएको थियो । यो संख्या सन् २०२० मा घटेको हुनुपर्नेमा झन् बढ्यो । अहिले प्रति एक लाखमा १९ जनाले आत्महत्या गरिरहेका छन् ।

यो तथ्यांकले सन् २०३० सम्म प्रतिलाख जनसंख्यामा आत्महत्या ४.७ मा झार्नुपर्ने लक्ष्य पूरा गर्न चुनौती देखिन्छ । अहिले बढिरहेको आत्महत्या दरले परिणाम हासिल गर्न मानसिक स्वास्थ्यका लागि धेरै काम गर्न बाँकी रहेको चिकित्सकहरुको बुझाइ छ । 

‘अझै पनि नेपाली समाजमा मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्ने गरिन्छ । जसको कारण आफूलाई मानसिक स्वास्थ्य समस्या भएकोबारे कुनै व्यक्तिले खुलेर बोल्दैन,’ डा. अधिकारी भन्छन्, ‘त्यसैले मानसिक स्वास्थ्यबारे जनचेतनाका लागि विद्यालय तहको पाठ्यक्रममा अनिवार्य समेटिनुपर्छ । समाजमा मानसिक स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक छ ।’ समाजमा व्याप्त रहेको मानसिक स्वास्थ्यको अवधारणामा परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको ठम्याइ छ ।  

यस्तै, डा. कार्कीका अनुसार मानसिक स्वास्थ्यको समयमै पहिचान गर्ने खालको कार्यक्रम पनि जरुरी छ । यसका साथै हाम्रा परिवारका सदस्य, आफन्त, साथीभाइ कस्तो चरणबाट गुज्रिरहेका छन् भनेर मनोभाव बुझ्ने, तिनका कुरा सुन्न समय दिने हामी सर्वसाधारणको प्रयासले पनि तनाव व्यवस्थापनमा ठूलो सघाउ पुग्छ । जसले सम्भावित दुर्घटना टर्न सक्छ ।

नेपालमा विष सेवन र झुण्डिएर आत्महत्या गर्ने दर उच्च छ । विषादीको पहुँच टाढा गराउन सकियो भने पनि केही मात्रामा आत्महत्या घटाउन सकिने उनको भनाइ छ । डा. कार्की भन्छन्, ‘आत्महत्या पनि एक किसिमको समस्या हो । कुनै रोग लागेपछि उपचार गर्नुपर्छ भन्ने सबैलाई जानकारी छ । त्यसरी नै आत्महत्याको सोच आएपछि यसको पनि समाधान छ भन्ने सोचको समाजमा विकास हुन जरूरी छ । आत्महत्या समस्या नभइ समाधानको बाटो खोज्नुपर्छ भन्ने अवधारणा स्थापित गर्नुपर्छ ।’ समयमै मानसिक रोगको पहिचान तथा समाधानको बाटो पत्ता लगाउन सके धेरै हदसम्म आत्महत्याका घटनालाई रोक्न सकिने उनको भनाइ छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि ७ लाख ३ हजारभन्दा बढीले आत्महत्या गर्छन् । योबाहेक प्रत्येक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याको प्रयास हुन्छ । डब्लूएचओको पछिल्लो अध्ययनअनुसार प्रत्येक वर्ष एचआईभी, औलो, स्तन क्यान्सर, युद्ध र हत्या (होमिसाइड) को तुलनामा आत्महत्याका कारण मर्नेहरू धेरै छन् ।  

  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १५:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया