शान्ति सन्देशका रुपमा भारतीय पाइलटलाई मुक्त गर्दै पाकिस्तान

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई रिहा गर्ने बताएका छन् ।

‘हामीसँग एक भारतीय पाइलट छन्,’ केहीबेरअघि संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री खानले भने, ‘शान्ति–सन्देशका रुपमा हामी उनलाई भोलि मुक्त गर्नेछौँ ।’ 

आफूले बुधबार राती भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्ने प्रयास गरेको तर सफल हुन नसकेको समेत उनले बताए । 

मंगलबार भारतले पाकिस्तानी सीमाभित्र रहेको आतंककारी समूह जैस–ए–मोहम्मदको बेस क्याम्प रहेको भनिएको जंगली इलाकामा हवाई आक्रमण गरेदेखि कस्मिरस्थित भारत–पाक सीमाक्षेत्रमा तनाव बढेको थियो ।

बुधबार सो क्षेत्रमा पटकपटक दुई पक्षबीच गोलाबारी भएका थिए । सोही क्रममा पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेका दुई भारतीय लडाकु विमानलाई आफूले गिराएको र ती पाइलटलाई नियन्त्रणमा लिएको पाकिस्तानले बताएको छ । भारतले भने प्राविधिक गडबडीका कारण आफ्नो एक विमान दुर्घटनामा परेको र एक पाइलट अभिनन्दन वर्थमन हराइरहेका बताएको थियो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसअघि पनि आफू शान्तिको पक्षमा रहेको बताउँदै आएका छन् । आक्रमणमा आफ्नो कुनै रुचि नरहेको तर भारतीय पक्ष लगातार आक्रमणमा उत्रेपछि जबाफ दिन बाध्य भएको उनले बताएका छन् । 



नेपाललगायत विभिन्न देशले दुवैलाई संयम बनाउन र संवादबाट समस्याको हल खोज्न सुझाव दिएका छन् । तनाव अन्त्यका लागि चीन र अमेरिकाले पहल सुरु गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । 
 



  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार १८:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया