नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत् नेपाली शब्दकोसलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा वृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत् नेपाली शब्दकोसमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए । उनले वृहत नेपाली शब्दकोसमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए ।
उनले वृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए । उनले हरेक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताए ।
उनले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरूलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने निर्णय भएको बताए । उनले जनताको संघर्ष र बलिदान र वीरताको गाथा सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने बताए ।
कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटेर लैजानुपर्ने चुनौती रहेको बताए । उनले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।