मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।  

पछिल्लो समय उच्च लयमा रहेको मुम्बई भने फाइनल पुग्न चुक्यो । क्वालिफायरमा गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । 

उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ३८ बलको सामना गरेका उनले ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, तिलक वर्माले ४३ र क्यामरुन ग्रीनले ३० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

गुजरातका लागि मोहित शर्माले २.२ ओभरमा १० रन दिएर ५ विकेट लिए । यस्तै, मोहम्मद शामी, राशिद खानले २/२ र जोस लिटलले १ विकेट हात पारे ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनायो । उसका लागि शुभन गिलले शतकीय पारी खेले । ६० बलको सामना गरेका उनले १० छक्का र ७ चौकासहित १ सय २९ रन बनाए ।



जारी सिजनमा गिलको यो तेस्रो शतक हो । यस्तै, साई सुदर्शनले ४३, हार्दिक पाण्ड्याले अविजित २८ र ऋद्धिमान साहले १८ रनको योगदान दिए । मुम्बईका लागि पियुष चावला र आकाश माधवालले १/१ विकेट लिए ।



  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार ६:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया