वडाअध्यक्षमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् । स्थानीयबासीहरूले सोही वडाका वडाअध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् । 

उनीहरूले सार्वजनिक जग्गा जातीय अतिक्रमण गर्न पाइँदैन, भ्रष्ट र तानाशाह वडाअध्यक्ष मुर्दावाद, दोषीलाई कारबाही गर, सामाजिक सद्भाव कायम गरलगायतका मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

गत बिहीबार बिहान करिब ८ बजेको समयमा बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीले विरोध जनाएका थिए । 

उनीहरूले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित रोक्न खोज्दा वडाध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायत दर्जनौँ व्यक्तिले स्थानीय सुनिल यादव, सुरुज यादव, अमीर्ती देवी, अजय राउत लगायतका करिब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । 

घाइतेहरू मध्ये ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाडौं लगिएको छ । यादव स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार थिए । 



केही दिन अगाडि उक्त वडाका प्रत्याशी उम्मेदवार विशेश्वर शर्मासहितका स्थानीयले वडाध्यक्ष सहनीविरुद्ध नगर प्रमुख मनोजकुमार साहलाई ११ बुँदे ज्ञापन पत्रसमेत बुझाएका थिए । गत वैशाख २१ गते वडाअध्यक्ष सहनीले नगर प्रहरी र जिरोमाइल प्रहरी चौकीको सहयोगमा सिक्सलेन सडक खण्डमा रहेको भोला मण्डलको बालुवा उठाई उपमहानगरमा नबुझाई बेचेको र बाँकी आफ्नै बालुवा गिट्टीको डिपोमा राखेको लगायतका आरोप उनीहरूको थियो । 

घटनापश्चात् स्थानीय प्रशासनले मिलापत्र गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय विजय यादवले जानकारी दिए । उनीहरूले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्रसमेत बुझाएका छन् । 



  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १३:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया