सांसदको आरोप : पुँजीगत खर्च गर्ने मन्त्रालयको सिलिङ घटाएर सरकार उल्टो बाटो हिँड्यो

सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको सिलिङ घटाएर सरकार उल्टो बाटोमा गएको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले पुँजीगत खर्च गर्न नसकी रहेको अवस्थामा सबै भन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको बजेट सिलिङ घटाएर उल्टो बाटोमा सरकार जान लागेको आरोप लगाएका हुन् । 

उनीहरूले योजना आयोगले बजेट निर्माण गर्दा सरकारलाई दिने योजनाहरू वास्तविकतामा आधारित भएर दिन आवश्यक रहेको बताएका छन् । योजना आयोग अब केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा बिस्तार गरी स्थानीय आवश्यकताका आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको उनीहरूले बताएका छन् । 

त्यस्तै, सांसदहरूले मुलुक आर्थिक रूपमा सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै धेरै उद्योगीहरू सडकमा आउन लागेको बताएका छन् । बैठकमा बोल्दै अर्थ समिति सदस्य सूर्यबहादुर थापाले अहिले सबै भन्दा बढी दबाब भौतिक पूर्वाधारमा भए पनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको बताए । 

उनले भौतिक मन्त्रालयको १ खर्ब ६६ अर्बबाट १४ अर्ब सिलिङ घटाएको भन्दै पुँजीगत खर्च भएन भन्ने पनि छ तर उपचार पुँजीगत खर्च गर्ने मन्त्रालयको बजेट घटाएर सरकार एनजीओ बेसिसमा सरकार जान खोजेको बताए ।  उनले सरकारले पुँजीगत खर्च बढाउने उपचार एकातिर गर्नु पर्ने भए पनि उपचार विधि अर्कोतिर गर्न उल्टोमति भएको बताए । 

त्यस्तै, अर्को सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा बिस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले स्थलगत रूपमा अनुसन्धान गरी आयोजनाहरूको निर्माणको विषयमा योजना बनाउन आवश्यक रहेको बताए । 

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई संसद विकास कोष हटाउन लगाएर ७७ जिल्लाकै विकासलाई मार्ने काम नगर्न चेतावनी दिए। उनले देश विकास गर्ने कोषको विरोध नगर्न आयोगलाई चेतावनी दिए । उनले केन्द्रमा ७ अर्बमा सर्वोच्चको भवन बनिरहेको तर जिल्लाका न्यायाधीश बस्ने घर भाडामा रहेको बताए ।



त्यस्तै, सांसद मेटमणि चौधरीले मुलुक दुई/तीन महिनापछि आर्थिक रूपमा टाट पल्टने अवस्था देखिएको बताए । उनले आर्थिक मन्दीको कारण धेरै उद्योगीहरू सडकमा आउन थालेको बताए । 



  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १५:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया