विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो : अर्थमन्त्री महत
‘प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेका संस्थानहरू निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक’
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाश शरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएका छन् । आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

उनले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मूलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचनका कारण चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताए । उनले वस्तु आयातमा भएको सङ्कुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको बताए ।

अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दबाब कम हुने अपेक्षा सरकारको रहेको बताए । उनले गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरूप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताए । 

उनले मुलुकको शोधानान्तर स्थिति बचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिति ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको दाबी गरे । उनले पर्यटन आगमनमा पनि उल्लेख्य वृद्धि भई वित्तीय पहुँच बिस्तार भएको बताए । अर्थमन्त्री डा. महतले कूल जडित विद्युत् क्षमता २६ सय ६६ मेगावाट पुगेसँगै विद्युत् निर्यात हुन थालेको बताए । 

अर्थमन्त्री महतले सार्वजनिक संस्थामा सरकारको सेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको बताएका छन् । उनले  सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्तीय स्थिति सन्तोषजनक हुन नसकेको बताए । उनले नेपाल सरकारको लगानीमार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा मात्रै नाफामा सञ्चालित रहेको बताए । उनले आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात् लगानीको १ प्रतिशत लाभांश प्राप्त भएको बताए ।

अर्थमन्त्री महतले सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको बताए । उनले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको बताए । उनले सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकीय सुधार आवश्यक रहेको पनि बताए । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १६:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया