स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट, ९८ प्रकारका औषधि तथा खोप निःशुल्क

सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताए ।

आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउँदै उनलेस्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको बताए । गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा. महतले बताए । 

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको उनले बताए । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने उनको भनाइ छ । 

औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताउँदै महतले स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बताए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत उनको भनाइ छ । सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ का लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले बताए । सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री महतले जानकारी दिए । 

सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताए ।



बिपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गर्ने उनले बताए ।
 



  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया