‘छाउपडी प्रथा अन्त्य’ को सन्देशसहित संगीता जब सगरमाथाको चुचुरोमा पुगिन्...

साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला हुन् । २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही ३ जेठको दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।   

सगरमाथा क्षेत्रमा झन्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइको अनुभव प्राप्त क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने लक्ष्य बोकेकी संगीता गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् ।

उनी २ जेठको राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना पूरा भएपछि उनले खुसीको आँसु थाम्न सकिनन् । ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ,’ संगीताले भनिन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।

रोकायाले २०७५ कात्तिकमा पहिलोपटक अन्य चारजना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर, मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो । 

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछुभन्दा परिवारले समेत साथ दिएन,’ संगीताले भनिन्, ‘सबैलाई मनाउन धेरै मिहिनेत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न संघसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।’ 

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेको संगीताले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । रासस 





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ९:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया