‘वन्यजन्तु बढ्दा डर होइन खुसी लाग्छ’

‘हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर, पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ,’ यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको ।  

उमेरले ५६ वर्ष लागेका उनले थपे, ‘पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्यास्रो लाग्थ्यो । तर, अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।’ 

थारूको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच/छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्‍यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्,’ थारूले भने, ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौं हामी वन हेरालुहरू ।’ 

बिहान ६ बजे वन कुर्न गएका थारू खाना खान ११ बजे मात्र घर फर्कने बताउँछन् । ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ,’ उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११/१२ बजेसम्म वनमै बस्नुपर्छ ।’ वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने थारूको भनाइ छ ।  

१२ वर्षदेखि वनको हेरचाह गर्दै आएका उनले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत थारूले मासिक १० हजार रुपैयाँ पाउँछन् । उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजार रुपैयाँले घर चलाउन गाह्रो छ । ‘१० हजारले के नै हुन्छ र ? त्यै पनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु,’ थारूले भने, ‘पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।’  

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि । ४० वर्षीयले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । ‘वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ,’ उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।’ 



आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ ।  

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । ४ सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा ६ जना रहेका छन् ।



२०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक ३ हजारबाट वनको हेरचाह गर्न सुरु गरेका अजोद्धयाको मासिक तलब १५ हजार रुपैयाँ छ । 

वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन् । २०७०/७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् । रासस   

  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १०:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया