राजमार्ग विस्तारका लागि भत्काइयो सहिद गेट

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिद गेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिद गेट भत्काइएको हो । 

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिद गेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। नेकपा (माओवादी) केन्द्रले उक्त सहिद गेटको निर्माण गरेको थियो । सहिद गेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।

मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिङबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । 

मुग्लिङ पोखरा सडक विस्तार : पाँच अर्ब ४२ करोड विनियोजन

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा  पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । 

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ । 



पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालू आर्थिक वर्षभित्रै सात किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए । वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनको भनाइ छ । 



पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का  छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का  सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि ३४ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट बेँसीसहर हुँदै मनाङ पुग्ने उक्त सडकलाई २५ वर्षपछि दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ । यो सडकको दूरी तनहुँको डुम्रेबाट पाउँदीसम्म २४ किलोमिटर, पाउँदी–बेँसीसहर १८ किलोमिटर र बेँसीसहरबाट मनाङ सदरमुकामसम्म ६५ किलोमिटर छ । 

तनहुँको डुम्रेबाट विसं २०२९ मा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्याउन साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्रयाक खुलेकामा विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र गरिएको थियो । 

  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ११:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया