दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान हुन्छ : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए ।

उनले भने, ‘ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्य तथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’

उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र नागरिकलाई यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ ।’ 

प्रधानमन्त्री दाहालले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता जनाए । उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए ।





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १४:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया