दुखद शुक्रबारः जब टुँडिखेलमा सात वर्षे बालकले बाबालाई सधैंका लागि बाइबाइ भने

काठमाडौं– ‘बाइबाइ बाबा, बाइबाइ ।’

अरु दिनमा हुन्थ्यो भने एउटा सात वर्षीया यी छोरीले भनेको यो बाइबाइ केही घन्टाका लागि हुन्थ्यो । आफ्ना बाबु अफिस जान निस्कँदा सायद ती बालिका सधैं यसो भन्थिन् । 

तर, यो शुक्रबार उनले भनेको बाइबाइ सदाका लागि थियो, उनका बाबा अब फर्किएर नआउने भएका थिए । 

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आफ्ना बाबुलाई ती बालिका बाइबाइ भन्न आएकी थिइन्, टुँडिखेलमा । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शवसहित अन्तिम श्रद्धान्जलीका लागि राखिएको शवहरुलाई श्रद्धान्जली दिँदा टुँडिखेलको माहोल निःशब्द थियो, टुँडिखेल शोकमा डुबेको थियो । 

त्यहाँ पुग्ने जो कोहीलाई एउटी आमाले गरेको बाइबाइ होस् या एउटा छोराले गरेको बाइबाइ किन नहोस्, आँखा पुछ्न बाध्य बनाउँथ्यो ।



दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिकी आमा आफ्नो छोराको मुस्कान अन्तिम पटक हेर्ने अभिलासामा थिइन् । छोराको शव नजिकै राखिएको ठाउँमा पुगेर उनले भनिन्, ‘मेरो बाबु, हासिरहेको छ, बाबु हासिरहेको छ ।’ 



सँगै अगाडिका यी दृश्यले शुक्रबार टुँडिखेललाई जति भावुक बनायो, त्यसलाई अझ निरस बनाएको थियो, पाश्र्वमा बजेको संगीतले । 

मन्त्री अधिकारीलाई अन्तिम पटक बिदाइ गर्न टुँडिखेलमा उनीसँग यसअघि कहिल्यै चिनजान नभएका व्यक्तिहरु पनि आएका थिए । 

तीनैमध्ये एक हुन्, देव गुरुङ । तनहुँ घर भएका गुरुङले जब मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको सुने, उनको मनमा चिसो पसिहाल्यो । 

‘उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध त थिएन, व्यक्तिगत चिनजान त भएन तर उहाँलाई मैले निकै पहिलेदेखि नै फलो गरेँ,’ गुरुङले भने, ‘एउटा भिजन भएको मान्छे गुमाउनु पर्दा देशलाई ठूलो क्षति पुगेको छ ।’

गुरुङजस्तै मन्त्री अधिकारीसँग त्यस्तो व्यक्तिगत सम्बन्ध नभएका गोकर्ण न्यौपाने पनि नुवाकोटबाट दिवंगत अधिकारी र अन्यलाई श्रद्धान्जली दिन काठमाडौं आए । 

१३ वर्षअघि एकपटक भेटेका थिए, न्यौपानेले अधिकारीलाई । ‘कर्मठ, जुझारु र देशलाई केही गरौँ भन्ने नेता हुनुहुन्थ्यो उहाँ,’ न्यौपानेले अधिकारीलाई भने, ‘उहाँको मृत्युले देशलाई निकै ठूलो असर पुगेको छ ।’

त्यति बेला भेट्दा न्यौपानेको मनमा  आशाको सन्चार भरिदिएका थिए, अधिकारीले । ‘देश परिवर्तनको संघारमा थियो,’ उनले सम्झिए, ‘उहाँले निकै ठूलो आशा देखाउनु भएको थियो, त्यही अनुसार हामी अगाडि बढेका थियौँ । आज उहाँलाई गुमाउनु ठूलो क्षति हो ।’ 

नेपाल एयरलाइन्समा कार्यरत जमुना नेपाल पनि मन्त्री अधिकारीलाई गुमाउनु ठूलो क्षति भएको बताउँछिन् । ‘दशैंमा विमानस्थलमा भेट भएको थियो,’ उनले सम्झिइन्, ‘हाँसेर ह्याप्पी दशैं भन्नु भएको थियो । आज उहाँलाई गुमाउनु पर्दा देशलाई ठूलो घाटा भएको छ ।’

जमुनाले त्यसपछि अधिकारीलाई अर्को पटक त भेट्न पाइनन् तर उनको काममा पनि अधिकारीको भिजनको कार्यान्वयनको प्रभाव पथ्र्यो । ‘त्यो सकारात्मक नै थियो,’ उनले भनिन्, ‘आज देशलाई नै क्षति पुगेको छ ।’

नेपाल एयरलाइन्समा नै कार्यरत सुनिल कुमार श्रेष्ठचाहिँ मन्त्री अधिकारीलाई नेताभन्दा पनि बढी लेखक र विकास प्रेमी व्यक्ति भन्न रुचाउँछन् ।

‘उहाँको समृद्ध नेपाल पुस्तक पढेपछि उहाँबाट म निकै प्रभावित भएको थिएँ,’ उनी भन्छन्, ‘उहाँलाई प्रत्यक्ष त भेट्न सकिनँ तर देशले एक शालिन तथा बौद्धिक व्यक्ति गुमाएको छ, यसले निराश बनाउने नै भयो ।’

  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १७:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया