जीवन मन्त्रजस्ता ‘पर्वत–पर्वतमा बटुवा घाम’

रमेश क्षितिजका नयाँ कविताहरूको संग्रह ‘पर्वत–पर्वतमा बटुवा घाम’को विमर्श गरिएको छ । शनिबार सिन्धुपाल्चोकको सुकुटे बिचमा भएको विमर्शमा चार दर्जनभन्दा बढी कवि तथा लेखकले क्षितिजका कविता र कवितायात्रामाथि टिप्पणी गरे ।

रमेश क्षितिजका कवितालाई अनुवाद गर्दा आफू चकित भएको लेखक कुमार नगरकोटीले बताए । ‘कुनै समय कवि श्रवण मुकारुङमार्फत मैले क्षितिजका कविता अंग्रेजी भाषामा अनुवाद गरेको थिएँ । मुकारुङले कविता थमाउँदा क्षितिजका कवितालाई खासै वास्ता गरेको थिइनँ, तर जब भट्टीमा पसेर पढ्न थालेँ, मदिराले भन्दा बढी मात उनका कविताले लगाए,’ उनले भने ।

साहित्यकार तथा पत्रकार वसन्त बस्नेतले क्षितिजको कविता लेखनको विशेषता र समकालीन नेपाली कविताको बुनोट र बान्कीबारे संवाद गरे । समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गर्दै भने, ‘अहिलेका नेपाली कवितामा अ–कविता हाबी भइरहेका बेला क्षितिजका कविताले नेपाली कविताको क्षेत्रमा युगीन अर्थ राख्छ । कवितामा खास कविता तत्त्व हराउँदै जाँदा नारालाई कविता मानेर पढिरहेका पाठकलाई यी कविता भीरमाहुरीले बनाएको महजस्तै स्वास्थ्यवर्द्धक लाग्नेछन् ।’

लेखक बुद्धिसागरले कुनै समय उपन्यास लेख्न कथाको खाका बनाएका क्षितिज नेपाली कविताका अनन्त सर्जक रहेको उल्लेख गरे । कवि ज्योति जंगल, हेम प्रभास, मणि लोहनी, बुद्धिसागर, यज्ञश, पवन आचार्य, रूपेश श्रेष्ठ, कुमार नगरकोटीलगायतले क्षितिजका कविता वाचन गरेका थिए । कार्यक्रममा बोल्दै कवि क्षितिजले आफूले गरिरहेको हृदय–यात्राको अर्को रूप कविता भएको उल्लेख गरे ।

कार्यक्रममा संगीतकार एवं गायक सन्तोष श्रेष्ठले क्षितिजका दुई गीत प्रस्तुत गरेका थिए । अर्को साँझ पर्खेर साँझमा, घर फर्किरहेको मानिस, आफैँ आफ्नो साथी भएँ (गीत संग्रह)पछि क्षितिजको यो कवितासंग्रह प्रकाशन भएको हो । बुकहिलले प्रकाशन गरेको ५२ वटा कविताको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ राखिएको छ ।



कवि क्षितिजलाई लिएर गीतकार भुपेन्द्र खड्काले आफ्नो फेसबुक वालमा भावुक टिप्पणी गरेका छन् । उनले लेखेका छन्–

सल्यानबाट दाङ झर्दा र दाङबाट राजधानी पस्दा उहाँ ‘क्षितिज’ बनिसक्नुभएको थिएन । काठमाडौंमा गुन्टा बोकेर डेरा सरिरहँदा बाल्यकालमा पढेका कवि, लेखेका कविता र सुनेका गीत तथा प्रकृतिका सुस्केराले उहाँलाई साहित्य र संगीतको लती बनाइदियो । 



राजधानीका कविताए–महफिलमा कविता वाचनका ठाउँ पाउनु सामान्य कुरा थिएन । रेडियोमा सुनेका गीतकै भरमा त्यस्तै गीत लेखेर चर्चित हुने सपना त झन् टाढाको थियो । तर, टाढाका कुरालाई÷सपनालाई आफूले नजिकबाट नियालेपछि उहाँले आफ्नो नामको पछाडि ‘क्षितिज’ थप्नुभयो र बन्नुभयो– रमेश क्षितिज ।

म सहर पस्दै गर्दा रमेश क्षितिजलाई चर्चित गीतकारको रूपमा रेडियोको फर्माइसमा सुन्न पाइन्थ्यो । ‘नमाग मसँग सहारा नमाग, भुइँमा छु आकाशका जून–तारा नमाग !’ राजेशपायल राईले घोक्रो फुलाएर गाएको उहाँको यो गीतले मलाई उहाँप्रति सम्मोहित बनाएको थियो ।

म पनि साहित्य, संगीत र कलाको लती थिएँ । भेट भई त गयो । अनि दाजु र भाइ भइयो । दाजुभाइको सम्बन्ध नङ–मासुकैजस्तो बन्यो ।

०५८ सालमा रामकृष्ण ढकालले आफ्नो ‘आधार’ एल्बमका लागि मुम्बईमा रेकर्ड गरेको गीत सिम्फोनिक स्टुडियोमा रेकर्डिस्ट दीप तुलाधर, संगीतकार न्ह्यु वज्राचार्य र मलाई सुनाउनुभयो;’ अचानोलाई थाहा होला चोट के हो खुकुरीको, कति माया लाग्छ अझै छोडिजाने निष्ठुरीको; एक्लो परानी, कहाँ गई मेटूँ म मनको बिरानी !’

यो गीत सुन्दै गर्दा न्ह्यु वज्राचार्यको संगीतमा रामकृष्ण ढकालले मेरो गीत रेकर्ड गर्दै हुनुहुन्थ्यो । सबैले गीतको तारिफ गरेपछि रामकृष्ण दाइले मेरो गीत गाएको पारिश्रमिक लिनुभएन । मलाई रमेश क्षितिजको गीतको गुन लाग्यो । त्यसपछि म गीतिलेखनमा बामे सर्न थालेँ ।

राजधानीका साहित्य, संगीत र गीतका कार्यक्रम छुटेनन् । क्षितिज दाइ र मेरो घनिष्ठता झन् सघन बन्यो । दाइका गीतहरू र कविताहरू मेरो हृदयमा कुँदिए ।
रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगिता र एकेडेमीले आयोजना गर्ने कविता महोत्सवमा रमेश क्षितिज दाइलाई स्वर्णपदक विजेताका रूपमा देख्न पाइयो ।

२०५६ सालमा प्रकाशन भएको कवितासंग्र्रह ‘अर्को साँझ पर्खेर साँझमा’ले आफ्नै लोकप्रियता हासिल गरिरहेको थियो । कविता जति शालीन थिए, कविहरूका बीच रमेश क्षितिजको परिचय शालीन र गम्भीर बन्दै गइरहेको थियो ।

त्यही समयको फेरोमा म पनि गीतकार बनिसकेको थिएँ । उहाँ हिँडेको बाटोमा हिँड्दा ठेसका अवशेषहरू देख्न परिरहेको थिएन । त्यसै क्रममा उहाँको अर्को कविताको किताब आयो; ‘घर फर्किरहेको मानिस’ । लोकप्रियताको अर्को विन्दुमा आफूलाई त्यस किताबले उभ्यायो । 

त्यहीबीचमा म पनि प्रकाशक बनिसकेको थिएँ । तर, पनि दाजुभाइबीच लेखक–प्रकाशकको नाता जोडिन १० वर्ष लाग्यो ।

२२ वर्ष लामो सहयात्रापछि हाम्रो कविता संग्र्रह निस्क्योः ‘पर्वत–पर्वतमा बटुवा घाम’ ।

५२ वटा मन्त्रजस्तै जीवनका दार्शनिक पाटोहरूलाई शब्द–विम्बमा उतारिएका कविताहरूको स्रग्रह हो, यो किताब । अति राम्रो गुणस्तरमा छापिएका यस संग्रहका कविता मलाई रमेश क्षितिजजत्तिकै प्रिय लाग्छन् ।

अहिले कविता पढेका पाठकबाट प्रशंसा बटुलिरहेको यस किताबले कविता कोरा नारा होइन, कविता मुद्धा होइन, कविता वर्तमान समयको टिप्पणी होइन र शब्दहरूको पहाडमात्र होइन भनी नवलेखक र कविताका पारखीलाई सन्देश दिनेछ/सिकाउनेछ ।

प्रकाशक हो, आफ्नो किताबको प्रचार मज्जाले गर्यो भन्नुहुन्छ होला, तर म कम प्रकाशक र बढ्ता पाठक भएर फेरि कविताको अदालतमा एकपटक उभिएको मात्रै होइन, दशककै उम्दा एउटा कवितासंग्रह प्रकाशन गर्न पाएकोमा अति प्रफुल्लित छु ।

जे मनमा बस्छ; त्यो अन्त बस्दैन । जे अन्त बस्छ; त्यो मनमा बस्दैन ।

मन हुनेहरूका लागि, मनद्वारा, मनको मसीले लेखिएका कविताहरूको साक्षी बस्न सबैलाई स्वागत गरिरहेछु ।
जीवनका क्षितिजहरू देख्न सक्ने बेलासम्म यस्तै कविताहरू पढ्न पाइरहूँ !

  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १९:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया